८ भाद्र २०८३, सोमबार
Header

देउवापक्षद्धारा विशेष महाधिवेशन वैधता बदर गर्न सर्वोच्चमा रिट


प्रकाशित: आइतवार, ४ माघ २०८२, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवापक्षले विशेष महाधिवेशनलाई वैधता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन ।


कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आइतबार दायर रिटमा निर्वाचन आयोगको निर्णयसम्बन्धी विवाद टुंगो नलाग्दासम्म निर्वाचन प्रक्रिया अघि बढाउन नहुने माग गरेका छन । 


उनीहरूले मंगलबार १६५ निर्वाचन क्षेत्रमा हुने मनोनयन प्रक्रिया स्थगित गर्न, नसके सम्पूर्ण निर्वाचन प्रक्रिया नै रोक्न अन्तरिम आदेश जारी गर्न आग्रह गरेका छन ।


रिटमा निर्वाचन आयोग, विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा विशेष महाधिवेशनपछि बनेको केन्द्रीय कार्यसमितिलाई विपक्षी बनाइएको छ ।


देउवा पक्षले आफूलाई कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति रहेको दाबी गर्दै विशेष महाधिवेशन नै अवैध भएको जिकिर गरेको छ । 


पार्टी विधानअनुसार केन्द्रीय कार्यसमितिको निर्णयबिना विशेष महाधिवेशन बोलाउन नमिल्ने र पदाधिकारी रिक्त नभएसम्म नयाँ नेतृत्व चयन गर्न नसकिने उनीहरूको तर्क छ ।


रिटमा भनिएको छ, “विधानको धारा १७(२) विपरीत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गैरकानुनी रूपमा विशेष महाधिवेशन आह्वान गरे ।” साथै, महाधिवेशन प्रतिनिधिको संख्या हचुवाको भरमा बढाइएको र ८८५ प्रतिनिधिले नाम फिर्ता लिएको दाबी गरिएको छ ।


देउवा पक्षले निर्वाचन आयोगले प्रतिनिधिहरूको यथार्थता यकिन नगरी विशेष महाधिवेशनबाट बनेको समितिलाई वैधता दिएको आरोप पनि लगाएको छ । 


प्रमुख निर्वाचन आयुक्तको पद रिक्त अवस्थामा आयोगले विवाद निरूपण गर्ने अधिकार प्रयोग गर्न नसक्ने उनीहरूको भनाइ छ ।


उता, विशेष महाधिवेशन पक्षधरले भने हस्ताक्षर गर्ने प्रतिनिधि २६५२ रहेको र फिर्ता गर्ने संख्या २९ मात्र भएको दाबी गर्दै देउवा पक्षको तर्क अस्वीकार गरेका छन । महाधिवेशनपछि हस्ताक्षर फिर्ता गर्नुको कुनै अर्थ नहुने उनीहरूको भनाइ छ ।


रिटमा निर्वाचन आयोगको निर्णय कार्यान्वयन भएमा कांग्रेस निर्वाचन प्रक्रियाबाटै बञ्चित हुने खतरा रहेको उल्लेख गर्दै मनोनयन तथा निर्वाचनका सम्पूर्ण कामकारबाही रोक्न अन्तरिम आदेश माग गरिएको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex