काठमाडौं । लिच्छविकालीन इतिहास बोकेको ताम्रकार समुदायका बारेमा गहिरो अध्ययन–अनुसन्धान आवश्यक रहेको वक्ताहरूले बताएका छन ।
ताम्रकार समाजको २७औं सामूहिक भेला तथा २१औं साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपालभाषा एकेडेमीका चान्सलर तथा नेवाः समुदायका अगुवा मल्ल के. सुन्दरले ताम्रकार वर्गको ऐतिहासिक योगदानलाई व्यवस्थित रूपमा दस्तावेजीकरण गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनका अनुसार लिच्छवी राजा अंशुवर्माको कैलासकूट दरबारमा रहेको तामाको छाना लगायत सामग्री निर्माण ताम्रकार वर्गले गरेको उल्लेख शिलालेखहरूमा पाइने भएकाले यसबारे थप खोज अनुसन्धान हुनुपर्ने बताइएको छ ।

उनले ताम्रकार समुदायले विभिन्न बाधा–अड्चनका बीच अहिलेको अवस्थामा पुग्न गरेको संघर्ष अन्य संघसंस्थाका लागि पनि प्रेरणादायी रहेको बताए ।
मल्लले ताम्रकार वर्गले बोकेको गौरवमय इतिहास र मौलिक सीपलाई उजागर गर्न सके नयाँ पुस्ता मात्र नभई अन्य समुदायहरू पनि लाभान्वित हुने धारणा व्यक्त गरे । साथै ताम्रकारहरूले उत्पादन गर्ने मूल्यवान सामग्रीको उत्पादन प्रविधि र शैलीलाई पेटेन्ट गर्दै अन्तर्राष्ट्रिय रूपमा संरक्षण गर्न सकिनेतर्फ पनि ध्यान दिन सुझाव दिए ।
ताम्रकार समाजका अध्यक्ष विनोद ताम्रकारको अध्यक्षतामा भएको कार्यक्रममा नेपालभाषा म्ंकास् खलस् यलका अध्यक्ष महेन्द्र महर्जन र यल नेवाः समाजका अध्यक्ष नानीकाजी शाक्यलगायतले पनि आफ्ना भनाइ राखे ।

कार्यक्रममा १८ जना जेष्ठ नागरिकलाई सम्मान गरियो। त्यस्तै एसईईदेखि स्नातकोत्तर तह उत्तीर्ण करिब सय जना विद्यार्थीलाई शैक्षिक सम्मान प्रदान गरिएको थियो । दाताहरूलाई सम्मान तथा आजीवन सदस्यता प्रमाणपत्र पनि वितरण गरियो ।
यसै क्रममा वार्षिक रूपमा प्रदान हुँदै आएको नगद रु १५ हजारसहितको ‘उग्रचण्डी प्रतिभा सम्मान’ यस वर्ष चित्रकला विधा तथा पुस्तक लेखनमार्फत योगदान पुर्याएकी कृषा ताम्रकारलाई प्रदान गरिएको थियो ।
उद्घाटन सत्रपछि भएको बन्दसत्रमा महासचिव दिपेश ताम्रकारले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विमल ताम्रकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । बन्दसत्रपश्चात सम्पन्न निर्वाचनमा अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरू निर्विरोध निर्वाचित भए ।

अध्यक्षमा पुनः विनोद ताम्रकार चयन भएका छन्। सदस्यहरूमा शम्भु गोविन्द ताम्रकार, दिपेश ताम्रकार, विमल ताम्रकार, विजय ताम्रकार, मनोज ताम्रकार (नक्साल), प्रवल ताम्रकार, मिला ताम्रकार, मनोज ताम्रकार (हौगल), निता ताम्रकार र सजेश ताम्रकार निर्वाचित भए। समाजको विधानअनुसार पद विभाजन कार्यसमितिको बैठकबाट गरिने छ ।
निर्वतमान अध्यक्ष रविन्द्रराज ताम्रकार पदेन सदस्यका रूपमा कार्यसमितिमा रहनेछन ।

Categorized in समाज