११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भेनेजुएला आक्रमणः मादुरो पक्राउपछि डेल्सी रोड्रिगेज कार्यकारी राष्ट्रपति


प्रकाशित: आइतवार, २० पुस २०८२, १०ः५० बजे
- महानगरखबर

काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कस्थित हिरासतमा राखेपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन ।


समाचार एजेन्सी रोयटर्सका अनुसार भेनेजुएलाको सर्वोच्च अदालतले प्रशासनिक निरन्तरता कायम राख्न र देशको सुरक्षा सुनिश्चित गर्न रोड्रिगेजलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी दिनु आवश्यक ठहर गरेको हो । अदालतको उक्त निर्णयसँगै उनले देशको कार्यकारी नेतृत्व सम्हालेकी हुन ।


अमेरिकाले शनिबार भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको थियो ।  


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा नयाँ सरकार गठन नभएसम्म अमेरिका नै त्यहाँको शासन सञ्चालन गर्ने दाबीसमेत गरेका छन ।  यस कदमले अन्तर्राष्ट्रिय स्तरमा तीव्र विवाद र आलोचना जन्माएको छ ।


को हुन डेल्सी रोड्रिगेज ?


डेल्सी रोड्रिगेजको जन्म १८ मे १९६९ मा भेनेजुएलाको राजधानी काराकसमा भएको हो । उनका पिता जर्ज एन्टोनियो रोड्रिगेज वामपन्थी गुरिल्ला लडाकू थिए र उनले १९७० को दशकमा ‘लीगा सोशलिस्टा’ पार्टी स्थापना गरेका थिए ।


कानूनमा स्नातक गरेकी रोड्रिगेज पेशाले अधिवक्ता हुन । उनी लामो समयदेखि राष्ट्रपति मादुरोकी विश्वासपात्र सहयोगीका रूपमा परिचित छिन र यसअघि पूर्वराष्ट्रपति ह्युगो चावेजको समर्थनमा पनि सक्रिय भूमिका निर्वाह गरिसकेकी छन । 


उनले २०१३–२०१४ मा सञ्चार तथा सूचना मन्त्री, २०१४–२०१७ मा विदेश मन्त्री र २०१७ मा सरकार समर्थक संविधान सभाको प्रमुखका रूपमा काम गरिसकेकी छन । सन २०१८ जुनमा उनलाई भेनेजुएलाको उपराष्ट्रपति नियुक्त गरिएको थियो । 


सन २०२४ अगस्टमा उनलाई तेल मन्त्रालयको अतिरिक्त जिम्मेवारीसमेत दिइएको थियो । अमेरिकी प्रतिबन्धबीच भेनेजुएलाको ऊर्जा क्षेत्र सञ्चालनमा उनले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।


उपराष्ट्रपतिका रूपमा रोड्रिगेजले विभिन्न मन्त्रालय र आर्थिक नीतिहरू सम्हाल्दै देशको चर्को महँगी र आर्थिक संकटको सामना गर्न प्रयास गर्दै आएकी थिइन्। धेरैले उनलाई मादुरो सरकारकी कडा समर्थक र नजिककी विश्वासपात्रका रूपमा हेर्छन ।


मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएपछि रोड्रिगेजले सार्वजनिक रूपमा अमेरिकी हस्तक्षेपको कडा विरोध गर्दै अन्तर्राष्ट्रिय समुदायसमक्ष अवस्था स्पष्ट गर्न माग गरेकी छन ।

 
अमेरिकाले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ । 


शनिबार अमेरिकाले राजधानी काराकाससहित विभिन्न सहरमा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई न्यूयोर्क पुर्‍याई हिरासतमा राखिएको छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा मानवीय क्षति नभएको दाबी गरेका थिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex