२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सन २०२५ मा ११६ विदेशीलाई नेपाल प्रवेशमा रोक, २,७९० नेपाली डिपोर्ट


प्रकाशित: आइतवार, २० पुस २०८२, १०ः४० बजे
- महानगरखबर

काठमाडौँ । सन २०२५ मा नेपालको अध्यागमन विभागले विभिन्न ३६ मुलुकका ११६ जना विदेशी नागरिकको नेपाल प्रवेश अस्वीकार (इन्ट्री रिफ्युज) गरेको छ । 


प्रवेश नदिई सम्बन्धित मुलुकमै फिर्ता गरिएकामध्ये सबैभन्दा बढी भारत र चीनका नागरिक रहेको  विभागले जनाएको छ ।


अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार भिसाको म्याद सकिएको, विगतमा शंकास्पद गतिविधिमा संलग्न भएको, आपराधिक अभिलेख रहेको, सुरक्षा जोखिम देखिएको वा पटक–पटक अध्यागमन नियम उल्लंघन गरेका विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको हो । 


यस्तै, सन २०२५ मा विश्वका ७७ मुलुकबाट २,७९० जना नेपाली नागरिक डिपोर्ट भई नेपाल फर्किएका छन । विभागका अनुसार सबैभन्दा बढी मलेसियाबाट ४९८ जना, संयुक्त राज्य अमेरिकाबाट ४६२ जना, संयुक्त अरब इमिरेट्सबाट ३२३ जना, दक्षिण कोरियाबाट २५७ जना र जापानबाट १२८ जना नेपाली डिपोर्ट भएका हुन ।


सम्बन्धित मुलुकमा ओभरस्टे बसेको, अपराधमा संलग्न भई कैद भुक्तान गरेको, भिसा नलिई गैरकानुनी रूपमा बसेको तथा अध्यागमन कानुन विपरीत गतिविधिमा संलग्न भएको लगायतका कारणले उनीहरू डिपोर्ट गरिएको प्रवक्ता ढकालले बताए ।


उता, सन २०२५ मै नेपालबाट ५०१ जना विदेशी नागरिक डिपोर्ट भएका छन । तीमध्ये ४३७ जना नेपालमा १५० दिनभन्दा बढी पर्यटक भिसामा बसेको कारण ओभरस्टेमा परेका हुन भने बाँकी ६४ जना विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको विभागले जनाएको छ ।


भिसाको उद्देश्यविपरीत बसोबास, लागूऔषध कारोबार, मानव बेचबिखन, संगठित अपराध, विदेशी मुद्रा अपचलन तथा अभद्र व्यवहारजस्ता कसुरमा संलग्न भई सजाय भुक्तान गरेपछि उनीहरूलाई नेपालबाट डिपोर्ट गरिएको प्रवक्ता ढकालले जानकारी दिए ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex