२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कांग्रेसको विशेष महाधिवेशनको भृकुटीमण्डपमा


प्रकाशित: विहिवार, १७ पुस २०८२, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । संस्थापन पक्ष तयार नभए पनि नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले  विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । 


आगामी पुस २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन गर्ने  महाधिवेशन पक्षधर नेताहरूसँग बुधबार र बिहीबार भएका छलफलपछि यस्तो निर्णय गरिएको हो । 


विशेष महाधिवेशन पक्षधर नेता सुवास पोखरेलका अनुसार विशेष महाधिवेशनका लागि भृकुटीमण्डपको हलसमेत बुक भइसकेको छ । 


उनले विधानले गरेको व्यवस्था कार्यान्वयन गर्न कार्यवाहक सभापतिलाई आग्रह गरिने र यदि कार्यवाहक सभापतिले आफैं विशेष महाधिवेशन नबोलाए महामन्त्रीहरूले विधानको पालना गराउन विशेष महाधिवेशन बोलाउने बाध्यता रहेको बताए ।


“विधानअनुसारको प्रक्रिया अघि बढाउन पहिला कार्यवाहक सभापतिलाई आग्रह हुन्छ। तर उहाँले नबोलाउनु भए महामन्त्रीहरूले बोलाउनै पर्ने अवस्था आएको छ,” पोखरेलले भने । 


यस विषयमा औपचारिक जानकारी गराउन विशेष महाधिवेशन पक्षधर नेताहरूले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेका छन । 


उनीहरूले कार्यवाहक सभापतिलाई विशेष महाधिवेशन बोलाउन आग्रह गर्ने तर नबोलाइए महामन्त्रीहरूले नै विशेष महाधिवेशन बोलाउने निर्णय भइसकेको जनाएका छन । 


कांग्रेसका करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका थिए । 


पार्टी विधानअनुसार कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था छ ।


तर संस्थापन पक्षले उक्त बाध्यात्मक व्यवस्थालाई बेवास्ता गर्दै अघि बढ्न खोजेपछि महामन्त्रीहरू विशेष महाधिवेशन बोलाउन बाध्य भएको विशेष महाधिवेशन पक्षधर नेता बलदेव तिमिल्सिनाले बताए ।


यसअघि विशेष महाधिवेशनलाई कमजोर पार्ने उद्देश्यले संस्थापन पक्षको सहमतिमा पुस २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो ।


तर क्रियाशील सदस्यता वितरण र नवीकरणको सूची सबै जिल्लाबाट नआएपछि उक्त कार्यतालिका प्रभावित भएको थियो ।


त्यसपछि महामन्त्री थापा र शर्माले तोकिएको मितिमा केन्द्रीय महाधिवेशन गर्न वडा र क्षेत्रको अधिवेशन मात्रै गर्ने प्रस्ताव अघि सारेका थिए ।

 
वडा र क्षेत्रको अधिवेशन सम्पन्न भएपछि केन्द्रीय महाधिवेशन गर्ने ढोका खुल्ने उनीहरूको तर्क थियो तर संस्थापन पक्ष त्यसमा पनि तयार नभएपछि असोज २८ गते दर्ता भएको विशेष महाधिवेशनको निवेदन स्वतः क्रियाशील भएको पोखरेलले दाबी गरे । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex