काठमाडौं । काठमाडौं उपत्यकामा रातको समयमा सवारीसाधन व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ‘म्याजिक लाइट’ हस्तान्तरण गरिएको छ ।
लायन्स क्लब अफ काठमाडौं थलीले खरिद गरेको उक्त म्याजिक लाइट आज जिल्ला प्रशासन कार्यालयमा आयोजित विशेष कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पौडेलले लायन्स क्लब अफ काठमाडौं थलीको सहयोगको प्रशंसा गर्दै म्याजिक लाइटको प्रयोगले काठमाडौंका सडकमा रातको समयमा ट्राफिक व्यवस्थापनमा उल्लेख्य सहजता ल्याउने विश्वास व्यक्त गरे ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले जेन–जी आन्दोलनका क्रममा ट्राफिक कार्यालय र यसको संरचनामा पुगेको क्षतिबारे जानकारी गराउँदै ट्राफिकविनाको चोकले सार्वजनिक जीवनमा पार्ने प्रभावबारे उल्लेख गरे ।
उनले जेन–जी आन्दोलनका क्रममा ट्राफिक कार्यालयका भवन, उपकरण तथा ट्राफिक प्रहरीका पोसाकमा आगजनी भई व्यापक क्षति पुगेकोप्रति दुख व्यक्त गर्दै हाल नागरिक तहबाट पुनर्निर्माणका प्रयास सुरु भएको जानकारी दिए ।
यस अवसरमा लायन्स क्लब अफ काठमाडौं थलीका अध्यक्ष रुपक सिमखडाले समाज सुधार र सहकार्यका लागि क्लबले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सामाजिक तथा सार्वजनिक हितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
Categorized in समाज