२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मदनराज ताम्राकारको कृति ‘अतीतको झझल्को’ सार्वजनिक


प्रकाशित: आइतवार, १३ पुस २०८२, १०ः१३ बजे
- महानगरखबर

ललितपुर । मदनराज ताम्राकारद्वारा लिखित कृति ‘अतीतको झझल्को’ शनिबार सार्वजनिक गरिएको छ । 


ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो । 


पुस्तकमा लेखक ताम्राकारका जीवनका अनुभूति, नेपाल तथा विदेशका विभिन्न स्थानमा गरेका भ्रमणका अनुभव, संस्मरणात्मक लेख र आत्मकथ्यपरक रचनाहरू समेटिएका छन्। आफ्नै जीवनसँग जोडिएका घटना र सन्दर्भलाई संयोजन गरी तयार गरिएको यस कृतिमा व्यक्तिगत जीवनदेखि सामाजिक परिवेशसम्मका चित्रणहरू समावेश छन । 


नेपाल बैंक र पछि एभरेष्ट बैंकमा लामो समय जागिरे जीवन बिताएका ताम्राकारले जागिरका क्रममा पाएका अवसर, भ्रमण तथा बसाइँका अनुभवलाई निबन्धात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ ।


‘उषाकाल’ निबन्धमा लेखकले आफ्नो बाल्यकाल, पितापुर्खाका प्रसङ्ग, ठूलो परिवारभित्रका मर्यादा, मान–सम्मान, मनमुटाव र मध्यम वर्गीय जीवनशैलीलाई जीवन्त ढंगले उतार्नुभएको छ ।

 


बाल्यकालीन मनोविज्ञान, दशैं–चाडपर्व कुर्दाको उत्सुकता तथा पारिवारिक घटनाहरू पुस्तकका मार्मिक पक्षका रूपमा आएका छन ।


‘बादल पछाडिको तारा’ निबन्धमा करिब सात दशकअघिको सामाजिक परिवेशमा अन्तरजातीय प्रेम विवाहले परिवारमा ल्याएको हलचल, ‘जिन्दगीका तरङ्गहरू’ मा पुख्र्यौली पेसा, व्यवसायिक उतार–चढाव र जीवन संघर्ष चित्रित छन । ‘बालबाल बचें’, ‘सिमरा एक सम्झना’, ‘अविस्मरणीय जङ्गल यात्रा’ लगायतका निबन्धमा वैदेशिक यात्रा, माओवादी द्वन्द्व, भूकम्प, दुर्घटना र व्यक्तिगत संघर्षका अनुभव समेटिएका छन । 


त्यसैगरी, आमाको मृगौला प्रत्यारोपण र देहावसानसम्बन्धी प्रसङ्ग, यात्राका क्रममा परिवारजन हराउने–भेटिने घटनाहरू, विद्यालय जीवनमा अनुभूत हीनताबोध र संघर्षका कथा पुस्तकका अन्य सशक्त पक्ष हुन । पुस्तकमा कुल १४ वटा शीर्षकअन्तर्गत जीवनका अतीतसँग जोडिएका विविध कथ्य प्रस्तुत गरिएको छ ।


पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईले अवकाशपछिको जीवनलाई सार्थक बनाउँदै लेखकले आफ्ना अनुभव समाजका लागि दस्तावेजका रूपमा प्रस्तुत गरेको बताउनुभयो ।


“यो पुस्तक परिवारका लागि मात्र होइन, ताम्राकार समाज र समग्र नेपाली समाजकै लागि महत्वपूर्ण निधि हो,” उहाँले भन्नुभयो । 


वाल्मीकि क्याम्पसका उपप्राध्यापक तथा समालोचक तेजविलास अधिकारीले आत्मकथात्मक कृतिले इतिहास र साहित्य दुवै माध्यमबाट समाजलाई प्रेरणा दिने धारणा व्यक्त गर्नुभयो। नेपाल पूजा प्रतिष्ठानका कोषाध्यक्ष विजयकुमार गौतमले जीवनका अनुभव, संघर्ष र यथार्थतालाई पुस्तकमा सशक्त रूपमा प्रस्तुत गरिएको बताउनुभयो । 


लेखकका सुपुत्र तथा पुस्तकका प्रकाशक किर्तनराज ताम्राकारले ‘अतीतको झझल्को’ साहित्यिक कृति मात्र नभई आफ्ना पिताको जीवन संघर्ष र प्रेरणाको प्रतिबिम्ब भएको उल्लेख गर्नुभयो ।

 

 

 

ताम्राकार समाजका निवर्तमान अध्यक्ष रबिन्द्रराज ताम्राकारले पुस्तक लेख्नु ज्यादै चुनौतीपूर्ण काम भएको भन्दै ताम्राकार समाजको व्यक्तित्वले ज्यादै महत्त्वपूर्ण र गहकिलो पुस्तक तयार भएको बताउनुभयो। उहाँले ताम्राकार समाजका धेरै कम मानिसले मात्रै नेपाली भाषामा पुस्तकहरु लेखेको जानकारी गराउनुभयो।


कार्यक्रममा ताम्राकार समाजका प्रतिनिधिहरूले पनि पुस्तकलाई गहकिलो र प्रेरणादायी कृति भएको भन्दै प्रशंसा गरेका थिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex