काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ ग्रहण गरेलगत्तै परराष्ट्र मन्त्रालय पुगेर पदभार सम्हालेका हुन ।
आजै परराष्ट्रमन्त्रीमा नियुक्त भएका शर्माले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका थिए ।
नेपाली सेनाका पूर्वरथीसमेत रहेका शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएकी हुन । यसअघि परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्की आफैंले सम्हाल्दै आएकी थिइन ।
नयाँ जिम्मेवारीसहित मन्त्रिपरिषद् पुनःसंरचनापछि प्रधानमन्त्री कार्कीले रक्षा र खानेपानी मन्त्रालय भने आफैंसँग राखेकी छिन ।
यो मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्री कार्कीको कार्यकालको पाँचौँ पटकको विस्तार हो । शर्माको नियुक्तिसँगै मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत सरकारका उच्च पदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख, सुरक्षाकर्मी तथा संवैधानिक अंगका प्रमुखहरूको सहभागिता रहेको थियो ।
तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि शर्मा सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहेका थिए। माओवादी लडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्ने प्रक्रियामा उनको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
Categorized in राष्ट्रिय