काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका ८९ हजारभन्दा बढी छात्रछात्रा दीक्षित भएका छन ।
विहिवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा उनीहरूलाई दीक्षित गरिएको हो ।
यसपटक त्रिभुवन विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका थिए ।
सङ्कायगत रूपमा मानविकीबाट १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनबाट दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। तीमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन निवेदन दिएका थिए ।
दीक्षान्त समारोहका क्रममा विभिन्न सङ्काय तथा तहका परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा र १४ जना छात्रलाई पदक प्रदान गरिएको छ ।
यस समारोहको विशेष आकर्षणका रूपमा विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
टोकियो विश्वविद्यालयमा आबद्ध प्राध्यापक काजिताले सन २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
कार्यक्रमलाई प्रधानमन्त्री शुशिला कार्की, शिक्षा मन्त्री महावीर पुनले पनि सम्बोधन गरेका थिए ।
Categorized in राष्ट्रिय