काठमाडौं । जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजालको स्थानहद फुकुवा गरेको छ ।
आयोगले मंगलबार एक पत्रमार्फत उनीहरूको स्थानहद फुकुवा गरिएको जानकारी गराएको हो ।
आयोगका उपसचिव कमलप्रसाद पाण्डेद्वारा पठाइएको पत्रमा उनीहरूलाई विदेश भ्रमण गर्न समेत अनुमति दिइएको उल्लेख छ ।
आयोगका अनुसार तीनै जनाको बयान कार्य सम्पन्न भइसकेकाले स्थानहद फुकुवा गरिएको हो । यसअघि गुप्तचर विभागका तत्कालीन प्रमुख हुतराज थापाको बयान सकिएपछि उनको पनि स्थानहद फुकुवा गरिएको थियो ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि आयोगले सम्बन्धित अधिकारीहरूलाई स्थानहद तोकेको थियो ।
Categorized in राष्ट्रिय