११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

अमेरिकाले डिभी लोटरी कार्यक्रम बन्द गर्ने 


प्रकाशित: शुक्रवार, ४ पुस २०८२, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डाइभर्सिटी भिसा (डिभी) लोटरी कार्यक्रम अस्थायी रूपमा रोक लगाइने घोषणा गरेकी छन ।


ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा यस्तो निर्णय गरिएको हो । 


न्युयोर्कबाट प्रकाशन हुने सिबिएस न्युजका अनुसार गोलीकाण्डमा संलग्न व्यक्ति डिभी लोटरी कार्यक्रममार्फत आठ वर्षअघि अमेरिका प्रवेश गरेको खुलेपछि राष्ट्रपति ट्रम्पले गृहमन्त्रीलाई कडा कदम चाल्न निर्देशन दिएका थिए । 


सोहीअनुसार गृहमन्त्री नोएमले डिभी कार्यक्रम अस्थायी रूपमा स्थगन गर्ने घोषणा गरेकी हुन । 


गृहमन्त्री नोएमले उक्त निर्णयबारे आफ्नो एक्स (पूर्व ट्विटर) अकाउन्टमार्फत जानकारी दिँदै ‘यस्तो अपराधीलाई हाम्रो देशमा प्रवेश गर्न दिनु हुँदैन थियो’ भनेर टिप्पणी गरेकी छन ।

 
अधिकारिहरूका अनुसार क्लाउडिओ म्यानुएल नेभेस भ्यालेन्टी नामका ४८ वर्षीय पोर्चुगिज नागरिक सन २०१७ मा डिभी कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए । अमेरिका प्रवेश गरेको केही वर्षपछि उनले ग्रीन कार्ड प्राप्त गरेका थिए । 


उनी सन २००० मा विद्यार्थी भिसामा ब्राउन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनका लागि अमेरिका आएका थिए भने दुई वर्षमै कलेज छोडेको खुलेको छ ।


गोलीकाण्डपछि अमेरिकाले आप्रवासी नीतिमा कडाइ गरेको छ । सीमामा गस्ती बढाइएको छ भने अन्य माध्यमबाट अमेरिका प्रवेश गर्ने प्रक्रियामा समेत थप नियन्त्रण गरिएको छ । 


गत महिना वाशिङ्टन डिसीस्थित ह्वाइट हाउसनजिक भएको गोलीकाण्डपछि विभिन्न मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णयसमेत गरिएको थियो । साथै, विभिन्न देशका नागरिकहरूले पाएका ग्रीन कार्डहरू पुनरावलोकन गर्ने निर्णय पनि गरिएको छ ।


सिबिएस न्युजका अनुसार डिभी लोटरी कार्यक्रम १९९० को दशकदेखि लागू हुँदै आएको हो, जसअन्तर्गत हरेक वर्ष आप्रवासन दर कम भएका देशका करिब ५० हजार नागरिकलाई अमेरिका लैजाने व्यवस्था छ । 


हाल डिभी कार्यक्रममा सहभागी हुन माध्यमिक शिक्षा अनिवार्य रूपमा पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।


यद्यपि गृहमन्त्री नोएमले अस्थायी रोकको घोषणा गरे पनि यसको कार्यान्वयन पक्ष सजिलो नरहेको सिबिएस न्युजले उल्लेख गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex