काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी निर्वाचनमा बुधबार साँझ ५ बजेर २ मिनेटसम्म ८ सय २ मत खसेको छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले प्रेस ब्रिफिङ गर्दै उक्त जानकारी दिएका हुन । उनका अनुसार मतदान प्रक्रिया छिटो सम्पन्न गर्ने मतदाताले करिब ९ मिनेट लगाएका छन भने ढिला गर्नेले २ घन्टा ४ मिनेटसम्म समय खर्चिएका छन ।
औसत रूपमा मतदान सकाउने मतदाताले ३० देखि ३५ मिनेट लगाउने गरेको उपाध्यक्ष पोखरेलले बताए ।
मतदान एकपटक सुरु भएपछि बीचमा रोक्न नमिल्ने भएकाले मतदान प्रक्रिया रातभर चल्ने उनले स्पष्ट पारे । निर्वाचनमा ८० वटा मतदान मेसिन प्रयोग गरिएको जनाउँदै हालसम्म कुनै पनि मेसिनमा समस्या नआएको जानकारी पनि उनले दिए ।
महाधिवेशनमा देशभरबाट आएका २ हजार २ सय ६३ प्रतिनिधिले मतदान गरिरहेका छन । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार केन्द्रीय कमिटीका ३०१ पदका लागि कुल ६०३ उम्मेदवारी परेका छन ।
पदाधिकारीतर्फ अध्यक्ष (१) पदमा २ जना, उपाध्यक्ष (५) पदमा ११ जना, महासचिव (१) पदमा २ जना, उपमहासचिव (३) पदमा ७ जना र सचिव (९) पदमा २० जनाले उम्मेदवारी दिएका छन् ।
Categorized in राष्ट्रिय