काठमाडौं । बुधबार चाँदीको भाउमा नयाँ रेकर्ड कायम भएको छ । पहिलो पटक चाँदीको मूल्य प्रतितोला ४ हजार नाघ्दै ४ हजार ५५ रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा चाँदीको भाउ एकैदिन तोलामा १७० रुपैयाँले बढेको छ ।
मंगलबार चाँदी प्रतितोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।
एक साताको अवधिमै चाँदीको मूल्यले लगातार नयाँ उचाइ छोएको हो । यसअघि गत बुधबार चाँदीको भाउ प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेर रेकर्ड बनेको थियो ।
यस्तै, बुधबार सुनको मूल्य पनि बढेको छ । महासंघका अनुसार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्दै २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि सोमबार सुनको मूल्य हालसम्मकै उच्च विन्दु २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
Categorized in बजार