काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकका अपेक्षाअनुसार विकासका लागि काठमाडौँ महानगरपालिकाले अग्रणी भूमिका खेलेकोप्रति विश्वास व्यक्त गरेका छन ।
काठमाडौँ महानगरपालिकाको ३१औँ महानगर दिवसका अवसरमा टुँडिखेलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्राकृतिक तथा मानव निर्मित सम्पदाको संरक्षण, हरियाली प्रवद्र्धन, एकीकृत सहरी विकास, सुविधा वितरण तथा सेवा प्रवाहमा विद्युतीय प्रणालीको प्रयोग महानगरपालिकाका उदाहरणीय काम भएको बताए ।
नागरिकसँग प्रत्यक्ष जोडिएका अधिकार वडा तहमा पुगेको सन्देश प्रवाह गर्न महानगर सफल भएको उहाँको भनाइ थियो ।
समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री रामेश्वर खनाल, भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले नीति, योजना, बजेट तथा कार्यक्रम महानगरबासीलाई गौरव अनुभूति गराउने लक्ष्यसहित निर्माण गरिएको उल्लेख गरे ।
हालसम्म २०८ रोपनी सार्वजनिक जग्गा सार्वजनिक प्रयोजनमा फिर्ता गरिएको, ५५ किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नति गरिएको, ६२ चोकमा हाइमास्ट बत्ती जडान गरिएको र सार्वजनिक खरिद प्रक्रियाबाट करिब १ अर्ब २८ करोड रुपैयाँ बचत भएको जानकारी दिए ।
सामुदायिक शिक्षाको सुधार, जोखिमपूर्ण श्रममा रहेका तथा यौन हिंसामा परेका बालबालिकाको उद्धार र विद्युतीय कार्यालय प्रणालीलाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गरे ।
उपप्रमुख सुनिता डंगोलले महानगर घोषणा भएको दिनलाई नागरिकको आँगनमा दृष्टिसम्पन्न स्थानीय सरकार स्थापना भएको ऐतिहासिक दिनका रूपमा स्मरण गर्नुपर्ने वताइन ।
असल अभ्यासलाई संस्थागत गर्दै नागरिकका अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
समारोहमा देशको गरिमा बढाउन योगदान पुर्याउने विभिन्न क्षेत्रका १५ जना व्यक्तित्वलाई जनही १ लाख रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा सांस्कृतिक अध्येता प्रा.डा. चुन्दा बज्राचार्य, साहित्यकार ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार विजयकुमार पाण्डे, शिक्षाविद् प्रा.डा. केदारभक्त माथेमा, कलाकार बसुन्धरा भुषाल रहेका छन ।
त्यसैगरी, क्रिकेटर सोमपाल कामी, महिला भलिबल क्याप्टेन जेनिशा विश्वकर्मा, युरोलोजिष्ट डा. सञ्जय खड्गी, साहित्यकार प्रकाश सायमी, पौडी खेलाडी नयना शाक्य, फिफाका पूर्व रेफ्री ज्ञानुराजा श्रेष्ठलाई पनि सम्मान गरियो ।
ललितकलाकर्मी गोविन्दलाल डंगोल, पावरलिफ्टिङ खेलाडी रुवी श्रेष्ठ, महिला क्रिकेटर इन्दु बर्मा र समाजसेवी रञ्जनलाल श्रेष्ठ सम्मानित भएका छन ।
त्यसैगरी महानगरको गरिमा अभिवृद्धिमा योगदान पुर्याएका जनप्रतिनिधिलाई स्थानीय सेवा गौरव पुरस्कार २०८२ तथा प्रथम जननिर्वाचित नगर प्रमुख जनकमान श्रेष्ठ स्वशासन पुरस्कारबाट सम्मान गरिएको थियो ।
समारोहका क्रममा सहरी विकास, विपद् व्यवस्थापन, सरसफाइ तथा उद्धारमा प्रयोग हुने सवारीसाधन र उपकरणको प्रदर्शनी, नगर प्रहरीको कवाज, विभिन्न वडाबाट परम्परागत बाजा, झाँकी र नृत्य प्रदर्शन गरिएको थियो ।
वि.सं. १९७६ पुस ३ गते स्थापना भएको सफाइ अड्डाबाट सुरु भएको काठमाडौँ महानगरको संस्थागत इतिहास २०५२ मंसिर २९ गते महानगर घोषणा भएपछि नयाँ चरणमा प्रवेश गरेको हो ।
यही दिनलाई प्रत्येक वर्ष महानगर दिवसका रूपमा मनाइँदै आएको छ ।
Categorized in पालिका