२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

फोनिज बागमतीको दोस्रो पूर्ण बैठक, गोष्ठी र फिचर लेखन तालिम सम्पन्न 


प्रकाशित: आइतवार, २८ मंसिर २०८२, ०९ः४३ बजे
- महानगरखबर

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठक, गोष्ठी र फिचर लेखन तालिम सम्पन्न भएको छ । 


आयोजनामा तथा फोनिज काठमाडौँ समितिको समन्वयमा सम्पदा प्रवद्र्धनसम्बन्धी विशेष गोष्ठि तथा फिचर लेखन तालिम सम्पन्न भएको छ ।


गोकर्णेश्वर नगरपालिका, काठमाडौँको सहकार्यमा शुक्रबार समितिको बैठक तथा गोष्ठी सम्पन्न भएको हो  ।


सो अवसरमा आयोजना गरिएको फिचर लेखन तालिममा बागमती प्रदेशका करिब ५० जना आदिवासी जनजाति पत्रकार सहभागी भएका थिए । 


तालिमको उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाले गर्नु भएको थियो । 


उनले सो अवसरमा नेपालका ऐतिहासिक मूर्त तथा अमूर्त सम्पदाको पहिचान गरी व्यवस्थित रूपमा प्रचार–प्रसार गर्नुपर्ने बताइन । 


सम्पदाले नेपालको अस्तित्व जोगाइराखेको उल्लेख गर्दै उनले कला, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताइन । 


सम्पदा पर्यटनको मुख्य आधार भएकाले यसले देशको अर्थतन्त्रमा समेत योगदान पुर्‍याउने उनको भनाइ थियो ।


घाङ ह्रि भ्यु रिसोर्ट, जहरसिंपौवामा सम्पन्न तालिमको समापन कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात लामाले सहभागी पत्रकारलाई प्रमाणपत्र वितरण गरे । 


कार्यक्रममा सम्बोधन गर्दै मन्त्री लामाले तथ्यमा आधारित पत्रकारिताले मात्र समाजलाई सही दिशामा डोर्‍याउन सक्ने बताए । 


तालिममा फिचर लेखनसम्बन्धी प्रशिक्षण गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक पुष्कर माथेमाले दिएका थिए । उनले सम्पदा संरक्षण र प्रवद्र्धनमा पत्रकारको भूमिकामाथि चर्चा गर्दै फिचर लेखनका चुनौती र अवसरबारे कार्यपत्र प्रस्तुत गरे । 


अनुसन्धानमूलक लेखनलाई जोड दिँदै सम्पदाका विषयमा गहिरो रूपमा लाग्न उनले सहभागीलाई सुझाव दिए ।


यही अवसरमा फोनिज बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकसमेत सम्पन्न भयो । 


बैठकमा ‘जेन्जी आन्दोलनपछि आदिवासी जनजाति पत्रकारको अवस्था’ विषयमा फोनिज संघीय समितिका सल्लाहकार अमरध्वज लामाले कार्यपत्र प्रस्तुत गरे । 


उनले संक्रमणकालीन अवस्थामा पत्रकारले संयमता अपनाउनुपर्ने र भ्यु तथा आकर्षक शीर्षकको पछि नलाग्न आग्रह गरे ।


फोनिज बागमती प्रदेश समितिका अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम तथा बैठक प्रदेश महासचिव राजु नापितले सञ्चालन गरेका थिए । 


कार्यक्रममा फोनिज केन्द्रीय महासचिव समीर बलामी, बागमती प्रदेश इन्चार्ज सुरेन्द्रभक्त श्रेष्ठ, फोनिज काठमाडौँ अध्यक्ष भीम लामा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex