काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन शनिवार भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र सुरु हुने भएको छ ।
उद्घाटन सत्रमा कम्तीमा दुई लाख जनसमुदाय उतार्ने एमालेले दाबी गरेको छ ।
ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यका अनुसार विभिन्न जिल्लाबाट सहभागीहरू आउनेक्रम तीव्र बनेको छ ।
आचार्यले प्रारम्भिक तयारीअनुसार पाँच लाखसम्म सहभागी ल्याउने लक्ष्य राखिएको भए पनि हालसम्मको तथ्याङ्कले कम्तीमा दुई लाख नागरिकको उपस्थिति सुनिश्चित भएको बताए ।
उनका अनुसार पूर्व, पश्चिम र उत्तरतर्फबाट दर्जनौँ गाडी रिजर्भ गरी महाधिवेशनतर्फ अग्रसर भइसकेका छन ।
आचार्यका अनुसार महाधिवेशन अवसरमा डेढ सयबढी झाँकी प्रस्तुत गरिनेछ । भक्तपुरले विभिन्न जात–जाति र समुदायको कला, संस्कृति तथा परम्परालाई झल्काउने ५० भन्दा बढी झाँकी प्रस्तुत गर्न लागेको छ ।
काठमाडौं र ललितपुरले पनि समान संख्यामा झाँकी प्रदर्शन गर्ने तयारी गरेका छन ।
उनका अनुसार, “उपत्यकाको सामाजिक–सांस्कृतिक सभ्यता र परम्पराको प्रतिविम्ब जुलुसमार्फत देखाइनेछ । यसले कार्यक्रमलाई ऐतिहासिक बनाउनेछ ।”
महाधिवेशन उद्घाटन स्थल भक्तपुरको सल्लाघारी पश्चिमतर्फको खुला चौर तय गरिएको छ ।
काठमाडौंबाट आउने सहभागी गाडीहरूलाई गट्ठाघरमा रोक्ने व्यवस्था मिलाइएको छ, जहाँबाट ३.१ किलोमिटर दूरी जुलुससहित पैदलै स्थलतर्फ जानेछन ।
पूर्वतर्फबाट आउने गाडीहरू जगातीमै रोक्ने गरी पार्किङ इँटा भट्टा तथा प्लटिङ क्षेत्र आसपास व्यवस्थापन गरिएको छ ।
ललितपुरबाट आएका सहभागीहरू शंखधर चौकमा भेला भई जुलुसमार्फत उद्घाटन स्थल पुग्नेछन ।
पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार जुलुसहरूलाई सर्भिस लेन प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । साथै, सहभागीहरूलाई कार्यक्रम पूरा नहुन्जेल सल्लाघारीको चौरमै रहन निर्देशन दिइएको छ ।
उद्घाटन समारोहका लागि निर्माण गरिएको मञ्चमा चाँगुनारायण मन्दिर, अध्यक्ष केपी शर्मा ओलीको कटआउट, लेखिएको ११औं महाधिवेशनको प्रतीक तथा धरहराको प्रतिकृति राखिएको छ ।
अध्यक्ष ओलीले भूकम्पपछि धरहरा पुनर्निर्माणलाई आफ्नो प्रमुख उपलब्धिमध्ये एकका रूपमा प्रस्तुत गर्दै आएका छन ।
शनिबारबाट सुरु हुने महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि सहभागी हुनेछन । यस पटक पार्टी अध्यक्षका लागि केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने तय भएको छ ।
तस्वीरः ईकान्तिपुर
Categorized in राष्ट्रिय