काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका विभिन्न क्षेत्रमा उम्मेदवार सिफारिसको प्रक्रिया तीव्र बन्दै गएको छ ।
झापा–१ बाट पार्टी महामन्त्री विश्वप्रकाश शर्माको एकल नाम सिफारिस भएको छ भने कैलाली–५ मा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस भएको छ ।
झापा–१ क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीका अनुसार क्षेत्रीय समितिको बैठकले महामन्त्री शर्माको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।
शर्मा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए ।
उता, नेपाली कांग्रेस कैलाली–५ क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारका लागि केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित डिल्लीराज पन्त, नरनारायण शाह ‘मनु’ र नृपबहादुर ओडको नाम जिल्ला कार्यसमितिमा सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रत्यक्ष सिफारिसमा परेका डिल्लीराज पन्त विघटित प्रतिनिधिसभाका सदस्य हुन ।
उनी पछिल्लो निर्वाचनमा एमाले उम्मेदवार नारदमुनि रानालाई पराजित गर्दै कैलाली–५ बाट विजयी बनेका थिए । यस्तै सिफारिस सूचीमा परेका शाह कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री र कैलालीका पूर्वसभापति हुन ।
ओड कांग्रेसका केन्द्रीय सदस्य तथा २०७४ को स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाका प्रमुख निर्वाचित भएका नेता हुन यसबाहेक क्षेत्रीय कार्यसमितिले समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गर्ने निर्णय पनि गरेको छ।
प्रवक्ता प्रदीप पाठकका अनुसार राष्ट्रियसभा सदस्यका लागि रिता भण्डारी, हरिश खड्का र रामचन्द्र ओझाको नाम सिफारिस गरिएको छ ।
कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकअनुसार प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रियसभाका लागि उम्मेदवार सिफारिस प्रक्रिया सुरु गर्न सबै मातहतका संरचनालाई परिपत्र गरेको थियो ।
Categorized in राष्ट्रिय