काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ। प्रमुख सचेतक श्याम घिमिरेसहित सात जनाको तर्फबाट सर्वोच्चमा रिट दर्ताका लागि पेस गरिएको हो ।
यसअघि नेकपा एमालेले पनि प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गरिसकेको थियो। दुवै दलले अलग–अलग रूपमा सर्वोच्चमा मुद्दा गरेपछि प्रतिनिधिसभा विघटनसम्बन्धी कानुनी विवाद थप चासोको केन्द्रमा आएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार कांग्रेसबाट पेश भएको रिट हाल अध्ययनको क्रममा रहेको छ। उनका अनुसार उक्त निवेदन संवैधानिक इजलासमा दर्ताका लागि पठाइएको छ र अध्ययनपछि सोमबार दर्ताबारे निर्णय लिनेछ ।
हालसम्म प्रतिनिधिसभा विघटनसम्बन्धी दुई राजनीतिक दलका र १७ वटा सार्वजनिक सरोकारअन्तर्गत दर्ता भएका गरी १९ वटा रिट सर्वोच्चमा विचाराधीन छन । एमाले र अन्य १७ रिटमा पहिलो सुनुवाइ भइसकेको छ भने कांग्रेसको निवेदनमा सुनुवाइ अझै हुन बाँकी छ ।
सर्वोच्च अदालतले यसअघि दर्ता भएका सबै रिटहरुलाई एकै ठाउँमा राखेर संयुक्त रूपमा सुनुवाइ गर्ने आदेश गरिसकेको छ ।
कांग्रेसको रिट दर्ता भएपछि पहिलो सुनुवाइ सम्पन्न गरी अन्य निवेदनसँगै लगावमा राखिने भएको छ ।
Categorized in राष्ट्रिय