२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

१४ वर्ष पुरा भएकाले मात्र एसईईमा सहभागी हुन पाउने


प्रकाशित: आइतवार, २१ मंसिर २०८२, १६ः५० बजे
- महानगरखबर

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था कार्यान्वयनका लागि देशभरका विद्यालयमा सर्कुलर गरेको छ । 


बोर्डका सदस्य–सचिव जंगबहादुर अर्यालले परीक्षा फाराम भर्नुअघि जन्ममिति संशोधन गर्न सकिने प्रावधान भएकाले उमेर नपुगेका विद्यार्थीले पनि सोही प्रक्रिया मार्फत फाराम भर्न सक्ने जानकारी विद्यालयलाई दिएका छन ।


बोर्डले हाल २०८२ सालको एसईई परीक्षाका लागि आवेदन फाराम र २०८३ सालमा परीक्षा दिन कक्षा ९ मा अध्ययनरत विद्यार्थीको रजिस्ट्रेसन फाराम दर्ता गर्ने कार्य चलाइरहेको छ । 


यस्तै, १४ वर्ष पूरा नभएकाले परीक्षाबाट वञ्चित हुने गुनासो धेरै आएपछि बोर्ड उमेर संशोधनको प्रक्रिया स्पष्ट पार्दै अघि बढेको हो ।


शिक्षा नियमावलीअनुसार ५ वर्ष उमेर पुगेका विद्यार्थी कक्षा १ मा भर्ना हुने र एसईई दिनुअघि चैत मसान्तसम्म १४ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ । 


तर धेरै विद्यार्थी चैत मसान्तमा १४ वर्ष नपुग्ने भन्दै अभिभावकले शिक्षा मन्त्रालय, गृह मन्त्रालय र स्थानीय तहमा गुनासो गर्दै आएका छन ।


सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको अनुरोधमा २०८२ साउन १४ गतेदेखि नाम, थर, उमेरलगायत विवरण सच्याउन सकिने व्यवस्था गरेपछि बोर्डले विद्यार्थीको जन्ममिति पनि संशोधन हुनसक्ने स्पष्ट पारेको छ ।


‘कक्षा १ मा विद्यार्थी भर्ना हुँदाको प्रमाणित अभिलेख स्थानीय पञ्जिकाधिकारीलाई उपलब्ध गराई जन्मदर्तामा उल्लेख विवरण संशोधनमा सहजीकरण गरिदिनु अनुरोध छ,’ बोर्डले सर्कुलरमा भनेको छ ।


त्यसरी सच्याइएका विवरण ईएमइएस प्रणालीमा कक्षा १ देखि ७ सम्म विद्यालयबाटै र कक्षा ८ का हकमा स्थानीय तहबाट अद्यावधिक गर्न सकिने निर्णय भएको बोर्डले जनाएको छ ।


बोर्डले जारी गरेको सर्कुलर गृह मन्त्रालय, पञ्जीकरण विभाग, शिक्षा तथा मानवस्रोत विकास केन्द्र, ७५३ वटै स्थानीय तह र जिल्ला शिक्षा विकास तथा समन्वय इकाईलाई पठाइएको छ । 


तर अभिभावकले भने जन्मदर्ताअनुसार नै कक्षा १ मा भर्ना भएको विवरणलाई स्थानीय तहले संशोधन गर्न आनाकानी गरेको गुनासो गर्दै आएका छन । 


२०७८ सालमा शिक्षा मन्त्रालयले विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा मात्र उमेरहद लागू हुने भन्दै १४ वर्षे प्रावधान हटाउने निर्णय गरेको थियो । 


तर बोर्डले २०८० देखि पुनः १४ वर्षे उमेरहद लागू गरेपछि शिक्षक, अभिभावक, विद्यालय र स्थानीय तहबीच दोहोरो निर्णयले अन्योल बढ्दै गएको छ ।


सुचनाः

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex