काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ज्यापू दिवस सहअस्तित्व, पहिचान र समृद्धिको सन्देश बोकेको महत्वपूर्ण सांस्कृतिक पर्व भएको बताउँदै यसका दार्शनिक पक्षलाई गहिरोसँग बुझ्नुपर्ने धारणा राखेकी छन ।
२२ औँ ज्यापू दिवसको अवसरमा बिहीबार वसन्तपुरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले यमरीलाई केवल परिकारका रूपमा नभई प्रकृति, माटो र समृद्धिप्रतिको समर्पणको प्रतीकका रूपमा बुझिनुपर्ने उल्लेख गरिन । “उद्यम र उद्यमीप्रति सम्मान हुने हाम्रो मौलिक पर्वले सामाजिक व्यवस्थापन र समन्वयको गहिरो सन्देश दिन्छ,” उपप्रमुख डंगोलले भनिन ।
उनका अनुसार यस वर्ष फलेको धानबाट परिकार तयार गरी अन्नपूर्णलाई चढाइने परम्परा केवल धार्मिक अवलम्बन मात्र नभई वर्षभरि अन्नको अभाव नहोस भन्ने सामूहिक आकांक्षासँग जोडिएको सांस्कृतिक चक्र हो ।
कार्यक्रममा प्रधानमन्त्री सुशिला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालसहित सरकारका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ज्यापू संस्कृतिको संरक्षण तथा प्रवर्धनमा योगदान पुर्याउने अग्रजहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
यसअघि नरःदे (हाँडीगाउँ) बाट सुरु भएको सांस्कृतिक र्यालीको उपप्रमुख डंगोलले उद्घाटन गरेकी थिइन ।
र्यालीमा महानगरको सम्पदा तथा पर्यटन समिति, वडा ५ का जनप्रतिनिधि, ज्यापू संस्कृतिक विकास कोषका पदाधिकारी तथा विभिन्न सांस्कृतिक झाँकीको सहभागिता थियो ।
Categorized in समाज