काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ चुनाव लड्न इच्छुक राजनीतिक दललाई निवेदन दिन आह्वान गरेको छ ।
शुक्रबार सूचना जारी गर्दै आयोगले समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन चाहने दलले तोकिएको ढाँचामा निवेदन पेस गर्नुपर्ने जनाएको छ ।
आयोगले दल दर्ताका लागि मंसिर २१ देखि २३ गतेसम्मको समय तोकेको छ ।
समानुपातिक प्रणालीतर्फ भाग लिन इच्छुक दलले ‘प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२’ अनुसार निर्दिष्ट ढाँचामा निवेदन दिनुपर्नेछ ।
आयोगका अनुसार उक्त प्रणालीतर्फ सहभागी हुने दल ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३’ को दफा ४८ वा ४९ बमोजिम आयोगमा दर्ता भएको हुनुपर्ने छ ।
प्रत्यक्षतर्फ हाल ११७ दल निर्वाचन प्रयोजनका लागि दर्ता छन ।
निवेदन पेस गर्दा सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयका आधारमा अधिकार प्राप्त पदाधिकारीले हस्ताक्षर गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ ।
एउटै चुनाव चिन्ह लिएर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुन दर्ता भएका दलको तर्फबाट निवेदन पेस गर्दा सबै दलले संयुक्त वा अलग–अलग रूपमा अधिकार प्राप्त व्यक्तिलाई तोकेर हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन केन्द्रीय समितिले गरेको निर्णयको प्रतिलिपि दलले निवेदनमा अनिवार्य रूपमा संलग्न गर्नुपर्ने आयोगको भनाइ छ ।
यस्तै, उम्मेदवारको बन्द सूची नपेस गर्ने दललाई समानुपातिक निर्वाचन प्रणालीतर्फ छुट्टै दल दर्ता गराउन आवश्यक नपरिने पनि आयोगले जनाएको छ ।
Categorized in राष्ट्रिय