७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

कांग्रेस नेता नैनसिंह महरको ‘बन्छ बन्छ मेरो देश बन्छ’ राष्ट्रिय गीत सार्वजनिक


प्रकाशित: विहिवार, १८ मंसिर २०८२, ११ः५९ बजे
- महानगरखबर

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरद्धारा लेखिएको देशभक्तिपूर्ण गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक गरिएको छ ।

 
ओएसआर डिजिटल युट्युब च्यानलमार्फत बुधबार ललितपुरमा एक कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरिएको हो । 


समाजमा निराशा, अव्यवस्था र बेथितिले देखिएको समस्याबीच आशा र सकारात्मकता फैलाउने उद्देश्यसहित गीत तयार गरिएको आयोजकले बताए ।

 
गीतमा शिक्षा मन्त्री महावीर पुन, अभिनेता राजेश हमाल, माइती नेपालकी संस्थापक अनुराधा कोइराला, गायक प्रमोद खरेल, वरिष्ठ चिकित्सक डा. भोला रिजाल, खेलाडी दिपक विष्ट, राष्ट्रिय गीतका रचनाकार प्रदीपकुमार राई (ब्याकुल माईला), टिकटक मोडल मिस पबी, क्रिकेट जगतका टमटाललगायतको अभिनय रहेको छ ।

 


कार्यक्रममा मन्तव्य राख्दै राष्ट्रिय गीत ‘सयौं थुँगा फूलका’ का रचनाकार बैकुल माईलाले देशभक्तिपूर्ण गीतले समाजमा सकारात्मक सन्देश दिन महत्वपूर्ण भूमिका खेल्ने बताए । “गीत–संगीत उद्योगका रूपमा विकसित भइरहेको परिस्थितिमा देशभक्ति गीत प्राथमिकतामा पर्न नसकिरहेका बेला यो गीत सुन्दर र कर्णप्रिय बनेको छ,” उनले भने, “दर्जनौ भाषणभन्दा एक गीतले धेरैलाई छोइदिन्छ ।”


वरिष्ठ चिकित्सक प्राध्यापक डा. भोला रिजालले राजनीतिमा सक्रिय व्यक्तिबाट साहित्यिक सिर्जना आउनु सकारात्मक कदम भएको टिप्पणी गरे ।


 “देश बनाउने काम अनुशासन र जिम्मेवारीबाट सुरु हुन्छ। यस्ता गीतले आगामी पुस्तालाई पनि प्रेरणा दिन्छ,” उनले भने । 


गीतका लेखक तथा कांग्रेसका युवा नेता नैनसिंह महरले नयाँ पुस्तामा आशा जगाउँदै देशमै मेहनत, पसिना र सीप उपयोग गर्ने वातावरण बनाउन सन्देश दिने उद्देश्य गीतले बोकेको बताए ।


 “वि .सं. २०४६ को परिवर्तनले देश बन्ने आशा जगाएको थियो। त्यही भावना निरन्तरता दिने प्रयास गीतमार्फत गरेको हुँ,” उनले भने । 


अग्रज पत्रकार पुरुषोत्तम दाहालले साहित्य, संस्कृति र कला राजनीतिको मार्गदर्शक शक्ति भएको उल्लेख गर्दै साहित्यिक सिर्जनाले देश विकासमा सधैं योगदान दिने बताए ।

 


गीतकार प्रमोद खरेलले राजनीतिमा सक्रिय व्यक्ति रचनात्मक लेखनमा अघि आएका उदाहरणलाई सकारात्मक रुपमा लिँदै गीतका शब्दहरू प्रभावकारी बनेको टिप्पणी गरे ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex