काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर–२७ स्थित असन क्षेत्रमा पुनर्निर्माण सम्पन्न गरिएका प्रमुख सांस्कृतिक सम्पदाहरूको सोमवार संयुक्त रूपमा उद्घाटन गरिएको छ ।
यिताचपा सत्तल, गणेश मन्दिर, नारायण मन्दिर, उमा महेश्वर मन्दिर, डवली तथा भोटाहिटीस्थित कलश द्वारको उद्घाटन गरिएको हो ।
यी पुननिर्मित सम्पदाहरुको उद्घाटन वडा २७ का अध्यक्ष योगेशकुमार खड्गी, महानगरका प्रवक्ता एंव १७ वडा अध्यक्ष नविन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र वातावरण समितिका संयोजक तथा वडा १२ का अध्यक्ष बालकृष्ण महर्जनले संयुक्त रुपमा गरेका हुन ।

यिताचपा सत्तल २ करोड ८४ लाख २९ हजार ४५६ रुपैयाँमा पुनर्निर्माण गरिएको हो । यसको भ्याटसहितको लागत अनुमान २ करोड ९१ लाख ३२ हजार ५०४ रुपैयाँ थियो। पुनःनिर्माणको काम शुभश्री न्यू ए–टु–जेड जेभीले २०८१ जेठ २१ गतेदेखि अघि बढाएको हो ।
इटा, चुनासुर्की, काठ, ढुङ्गा, तेलिया इटा र झिँगटी जस्ता परम्परागत सामग्री प्रयोग गरी सत्तललाई मूल स्वरुपअनुरूप पुनःनिर्माण गरिएको महानगरले जनाएको छ ।
उद्घाटनपछि प्रवक्ता मानन्धरले असनको प्राचीनता र सांस्कृतिक पहिचानलाई जोगाउन महानगरले गरेको लगानी महत्त्वपूर्ण भएको बताए ।

‘असन काठमाडौँको पहिचान हो। यसको मौलिक स्वरुप जोगाउन सत्तल पुनःनिर्माणले ठूलो भूमिका खेलेको छ,’ उनले भने ।
सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले पुरानो सत्तललाई टेकोमुक्त बनाउन सक्नु पहिलो ठूलो उपलब्धि भएको बताए । भित्री सहरी बस्ती खाली हुँदै जानु चुनौती भएकाले स्थानीयले थातथलो नछोड्न आग्रह पनि गरे ।
वडा अध्यक्ष खड्गीले यिताचपा पुनर्निर्माणसँगै असनको ‘मुहार उज्यालो’ भएको उल्लेख गर्दै मूर्त सम्पदाको पुनस्र्थापनासमेत जारी रहेको बताए ।

‘पूर्खाको नासो पुस्तामा सुम्पने ठूलो काम अगाडि बढिएको छ,’ उनले भने ।
इतिहास र संरचना
आर्किटेक्ट अमित बज्राचार्यका अनुसार पुनर्निर्मित सत्तल ६९ फिट लम्बाइ र १३ फिट १० इन्च चौडाइको २ तले, २ पाखे संरचना हो ।
दुवै तला ९५४.२७ वर्गफुटका छन्। भुईँतलातिर १० कवल पसल छन्। भित्र दक्षिणपट्टि ११ प्रस्तर थाम, तोरण र अन्नपूर्ण द्यःछेँका गुथियारले पूजा गर्ने स्थान रहेको छ ।
नास द्यः (नाटयेश्वर) को मूर्ति पनि यहीँ राखिएको छ । पहिलो तलाको पूर्वपट्टि आगम कोठा रहेको छ, जहाँ लुँपौ गुथिले पूजा गर्ने गरेका छन ।

सत्रौँ शताब्दीभन्दा अगाडि नै निर्माण भएको मानिने यिताचपा सत्तल भोट व्यापारबाट फर्किने व्यापारीहरूका लागि ‘क्वारेन्टिन’ बस्ने स्थानका रूपमा प्रयोग हुन्थ्यो । व्यापारीहरूले घर फर्किनुअघि १५ दिन यहीं बस्ने चलन थियो । त्यसपछि भोटाहिटीमा नुहाएर मात्र परिवार भेट्ने प्रचलन थियो ।
विगत केही वर्षदेखि जीर्ण बनेको सत्तल प्रयोगविहिन रहेको र पैदलयात्रीसम्मलाई जोखिम हुने अवस्थादेखि अहिले यसलाई पूर्ण रूपमा मौलिक स्वरुपमा फर्काइएको छ ।
अन्य सम्पदाको लागत
आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार गणेश, नारायण र उमा महेश्वर मन्दिरको पुनर्निर्माण लागत करिब ८३ लाख रुपैयाँ छ ।
डवली ४ लाख रुपैयाँमा मर्मत गरिएको छ भने कलश द्वार ७ लाख २५ हजार रुपैयाँमा बनेको हो ।
असनको ऐतिहासिक, सांस्कृतिक र कलात्मक मूल्यलाई पुनःजीवित गर्ने यी संरचनाले क्षेत्रको पहिचान अझ प्रस्ट बनाएको स्थानीयको भनाइ छ ।




तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in वडा