१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

राष्ट्र बैंकले थप्यो ९ महत्वपूर्ण नयाँ व्यवस्था


प्रकाशित: सोमवार, १५ मंसिर २०८२, १३ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नौवटा महत्वपूर्ण व्यवस्था लागू गरेको छ । 


ब्याजदर करिडोरसम्बन्धी परिमार्जनदेखि लघुवित्तको कर्जा सीमा वृद्धि, प्राकृतिक विपत्तिबाट प्रभावित उद्यमीका लागि सहुलियतसम्मका व्यवस्था समेटिएका छन । 


१) ब्याजदर करिडोरमा परिमार्जन


ब्याजदर करिडोरलाई क्रमिक रूपमा सिमेट्रिक बनाउने उद्देश्यले स्थायी तरलता सुविधा दर ६ प्रतिशतबाट घटाई ५.७५ प्रतिशतमा झारिएको छ ।


नीतिगत दर ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत गरिएको छ ।


स्थायी निक्षेप सुविधा दर भने २.७५ प्रतिशतमै यथावत् राखिएको छ ।


२) CRR र SLR यथावत्


अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातमा कुनै परिवर्तन नभई पुरानै व्यवस्था यथावत रहनेछ ।


३) संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सम्बन्धी व्यवस्था खारेज


अब बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशतले कम राख्नुपर्ने बाध्यता हटाइनेछ ।


४) व्यक्तिगत ओभरड्राफ्ट सीमा दोब्बर


व्यक्तिगत अधिविकर्ष (ओभरड्राफ्ट) कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड पुर्‍याइनेछ ।


५) लघुवित्तको धितो ऋण सीमा वृद्धि


लघुवित्तले धितोमा दिन सक्ने कर्जाको अधिकतम सीमा ७ लाखबाट बढाएर १५ लाख पुर्‍याइनेछ ।


६) लघुवित्तका ऋणीलाई राहत


कर्जा भुक्तानीमा समस्या परेको ऋणीका लागि लघुवित्त संस्थाले भुक्तानी तालिका परिमार्जन गर्न सक्ने व्यवस्था लागू गरिनेछ ।


७) बाढी–पहिरो प्रभावित उद्यमीका लागि पुनरसंरचना सुविधा


इलामसहित प्राकृतिक विपत्तिबाट प्रभावित जिल्लाका उद्यम–व्यवसायले लिएको कर्जामा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याजदर असुल गरी एकपटक पुनरसंरचना वा पुनरतालिकीकरण गर्न सक्नेछन ।


८) महानगरका शाखा समायोजन खुला


विद्युतीय भुक्तानी विस्तार र महानगर क्षेत्रमा बैंकका शाखा धेरै भएको कारण बैंक तथा वित्तीय संस्थालाई शाखा समायोजन वा एकीकरण गर्न अनुमति दिइनेछ ।


९) घुस तथा भ्रष्टाचारविरुद्ध नीतिगत कडाइ


अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मानेर बैंक तथा वित्तीय संस्थामा पारदर्शिता, जवाफदेहिता र सुशासन बढाउने उद्देश्यले घुस तथा भ्रष्टाचारविरुद्ध अतिरिक्त नीतिगत व्यवस्था तयार गरिनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex