७ जेठ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

लुम्बिनी लायन्सको दोस्रो जित


प्रकाशित: शनिवार, १३ मंसिर २०८२, १६ः१६ बजे
- महानगरखबर

काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार हारको सिलसिला तोड्दै दोस्रो जित दर्ता गरेको छ । 


शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गर्‍यो । 


पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले १९.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । अन्तिम ओभरमा १० रन आवश्यक हुँदा सन्दीप जोराले लगातार दुई चौका प्रहार गर्दै टोलीलाई जित दिलाए । 


जितसँगै लुम्बिनी पाँच खेलमा ४ अंकसहित अंकतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।


लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रनको योगदान दिए । एनपीएलमा डेब्यू गरेका श्रीलंकाका निरोशन डिकवेलाले ३७ रन बनाए भने सन्दीप जोरा २५ रनमा अविजित रहे ।
बलिङतर्फ पोखराका विपिन खत्री, म्याट टेलर र सागर ढकालले समान दुई–दुई विकेट लिए ।


यसअघिको इनिङमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ५ विकेटको क्षतिमा १५० रन बनायो । कमजोर सुरुवातपछि विकेटकिपर ब्याटर एडम रोसिङ्गटन र जिमी नीशमको उत्कृष्ट साझेदारीले टोलीलाई उकासेको थियो ।


रोसिङ्गटनले ६३ बलमा ७ चौका र ५ छक्कासहित ८१ रन प्रहार गरे। नीशम ३२ बलमा ३ छक्का र ३ चौकासहित ५१ रनमा अविजित रहे। दुवैले पाँचौँ विकेटका लागि ९२ रनको साझेदारी गरे ।
लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई–दुई तथा गुलबादिन नइबले एक विकेट हात पारे ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex