काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक, एकल महिला, हिंसामा परेकाहरू तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन छत्रपाटी निःशुल्क चिकित्सालयसँग सम्झौता गरेको छ ।
उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको उपस्थितिमा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उपचार सहकार्यका लागि महानगरले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको र अस्पतालले थप ३० प्रतिशत योगदान गर्दै १ करोड ८० लाख रुपैयाँ बराबरको सेवा उपलब्ध गराउनेछ । यो सम्झौता चालु आर्थिक वर्षका लागि लागू हुनेछ ।
सम्झौतापछि उपप्रमुख डंगोलले पारिवारिक सहारा नपाएर उपचारमा जान नसक्ने मानिसलाई महानगरले गरेको पहलले “आफ्नै सरकार छ” भन्ने अनुभूति दिन सुरु गरेको बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउने र दुरुपयोग रोक्न प्रभावकारी प्रणाली विकास गर्न अस्पताललाई आग्रह गरे ।
अस्पतालका अध्यक्ष डा. श्रेष्ठले पछिल्ला दिनमा उपचारलाई प्राथमिकता नदिने पाका व्यक्तिहरू समेत अस्पताल आउन थालेको र समुदायस्तरमा स्वास्थ्यप्रति चासो बढेको उल्लेख गर्दै यो परिवर्तन महानगरसँगको सहकार्यकै परिणाम रहेको बताए ।
सम्झौता अनुसार महानगरका कर्मचारी तथा जनप्रतिनिधिले समेत अस्पतालबाट उपचार सेवा पाउनेछन् ।
महिला कर्मचारी तथा जनप्रतिनिधिलाई म्यामोग्राम सेवा उपलब्ध गराइने छ ।
लैङ्गिक हिंसामा परेकाहरू, एकल महिला, वेवारिसे व्यक्ति, अपाङ्गता भएका व्यक्ति तथा सिटी स्क्यान आवश्यक पर्ने कर्मचारीलाई सामाजिक विकास विभागको शिफारिस आवश्यक हुनेछ । सो उपचार खर्च महानगरले व्यहोर्नेछ ।
सेवा लिन ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता कार्ड, राष्ट्रिय परिचयपत्र वा नागरिकता, कर्मचारी तथा जनप्रतिनिधिले आफ्नो परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
Categorized in पालिका