काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारमध्ये ७२३ थान फिर्ता भएका छन ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बिहीबार बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेसम्म ७२३ हतियार राज्यको नियन्त्रणमा आइसकेको जानकारी दिए ।
यसअघि २७ कात्तिकमा राष्ट्रिय सभा अन्तर्गतको संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समितिमा उनले ७१८ हतियार फिर्ता भएको विवरण प्रस्तुत गरेका थिए । त्यसयता थप पाँच हतियार बरामद भएको हो ।
गृहमन्त्रीका अनुसार आन्दोलनका क्रममा जेलबाट भागेका कैदीबन्दी फिर्ता हुने क्रम जारी छ ।
२४ भदौमा भागेकामध्ये ९ हजार ६९७ जना आत्मसमर्पण गरिसकेका छन भने ४ हजार ८५७ जना अझै फरार अवस्थामा छन ।
‘बाहिर रहेका कैदीलाई फिर्ता ल्याउन विशेष अपरेसन सञ्चालन भइरहेको छ,’ उनले भने ।
जेनजी आन्दोलनको दिन २४ भदौमा देशभर सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।
सो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ५९५ जनालाई पक्राउ गरेको छ ।
तीमध्ये २८३ विरुद्ध विभिन्न आरोपमा मुद्दा दर्ता भइसकेको गृहमन्त्रालयले जनाएको छ । तर उनीहरूविरुद्ध कुन–कुन कसुरमा मुद्दा चलेका छन् भन्ने विवरण गृहमन्त्रीले खुलाएका छैनन ।
सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको मागमा भएको आन्दोलनका नाममा तोडफोड तथा आगजनीमा संलग्न व्यक्तिहरूलाई सार्वजनिक भिडियो फुटेज लगायतका प्रमाणको आधारमा पहिचान गरी अनुसन्धान अघि बढाइरहेको छ ।
Categorized in राष्ट्रिय