काठमाडौं । काठमाडौं गोर्खाजले सिद्धार्थ नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा दोस्रो जित दर्ता गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गर्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको हो ।
चार खेलमा दोस्रो जित निकालेको काठमाडौंले अब ४ अंक बनाउँदै प्रतियोगितामा पुनः लय समातेको छ ।
काठमाडौंले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराएपछि सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग लगातार पराजित भएको थियो ।
उता, लुम्बिनीका लागि भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी त्यसपछि कर्णाली याक्ससँग पराजित भएको थियो ।
१५९ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी १३५ रनमै समेटियो
काठमान्डुले दिएका १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स १९.१ ओभरमा सबै विकेट गुमाउँदै १३५ रनमा समेटियो ।
लुम्बिनीका शेर मल्लले २७ तथा दिलीप नाथले २५ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन ।
काठमाडौँका बलरहरूको उत्कृष्ट प्रदर्शन
काठमाडौँको बलिङ उत्कृष्ट रह्यो । मिलिन्द कुमार र जेरार्ड एरासमसले दुई–दुई विकेट लिए ।
कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले एक–एक विकेट झारे ।
एनपीएलको दोस्रो संस्करणमा समूह चरण रोचक बन्दै गइरहेको छ । काठमाडौँले अब बाँकी खेलमा प्लेअफ दाबी बलियो बनाउने संकेत दिएको छ ।
तस्वीरः अनलाइनखबर
Categorized in मनोरन्जन