काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणासँगै देशभर नयाँ मतदाता दर्ता गर्ने चाप बढेको थियो ।
निर्वाचन आयोगले थप गरेको समय सोमबार मध्यरातिदेखि सकिएपछि नयाँ मतदाताको अद्यावधिक विवरण सार्वजनिक भएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसपटक ८ लाख ३७ हजार ९४ नयाँ मतदाता सूचिमा थप भएका छन ।
आयोगले फोटो तथा औँठाछापसहितको बायोमेट्रिक दर्तामार्फत ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत ४ लाख ९२ हजार १८० जनाको नाम दर्ता भएको जनाएको छ ।

राष्ट्रिय परिचयपत्रका विवरणलाई नै मतदाता नामावलीमा प्रयोग गर्न मिल्ने व्यवस्था भएपछि अनलाइनमार्फत दर्ता गर्नेको संख्या उल्लेख्य रूपमा बढेको आयोगको भनाइ छ ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि सामाजिक सञ्जालमार्फत नयाँ मतदाताको संख्या समावेश गर्दै मतदाता नामावली सङ्कलन सकिएको उल्लेख गरेकी छिन ।
गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाता १ करोड ८१ लाख ६८ हजार २३ रहेको आयोगले जनाएको थियो ।
यसअघि कात्तिक ३० गतेसम्मका लागि दर्ताको समय तोकिएको थियो। तर नयाँ मतदाताको भीड बढेका कारण तथा सरोकारवालाको आग्रहपछि आयोगले मंसिर ५ गतेसम्मका लागि दर्ता अवधि थपेको थियो ।
Categorized in राष्ट्रिय