काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता २ सयभन्दा बढी नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन ।
भर्खरै अमेरिकाबाट ३५ जना नेपाली नागरिक डिपोर्ट भई काठमाडौं आइपुगेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार फिर्ता भएकामध्ये अधिकांश तल्लो बाटो (अवैध मार्ग) हुँदै अमेरिका पुगेका थिए ।
फिर्ता भएकामध्ये एक जना विद्यार्थी भिसामा अमेरिका पुगेका थिए । उनी कलेजमा भर्ना नबढाई (रिन्यू नगरी) भिसाको शर्त विपरीत काम गरेको भेटिएपछि डिपोर्ट गरिएको पंगेनीले जानकारी दिए ।
त्यस्तै, एक जना भिजिट भिसामा पुगेका नेपाली काम गर्न थालेपछि पक्राउ परी फिर्ता गरिएको पाइएको छ ।
बाँकी ३३ जना भने विभिन्न देश हुँदै अवैध रूपमा अमेरिका पुगेका व्यक्तिहरू रहेको ब्यूरोले जनाएको छ ।
तल्लो बाटोबाट अमेरिका पुगेकाहरूले ८० लाख रुपैयाँसम्म तिरेको अनुसन्धानमा खुलेको छ । दुई वर्षअघि विभिन्न ट्रान्जिट देशहरू हुँदै अमेरिका छिरेका उनीहरूलाई अमेरिकाले अवैध बसोबासको आधारमा डिपोर्ट गरेको हो ।
प्रहरीका अनुसार फिर्ता भएकामध्ये अधिकांश रुकुम–दाङ क्षेत्रका रहेका छन् । उनीहरूले भने कोही विरूद्ध जाहेरी दिन नमानेका बताएका छन् ।
अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अवैध आप्रवासीका विरूद्ध कडा नीति लागू गरेका थिए । सोही नीतिअनुसार अमेरिका बसेका अवैध आप्रवासीलाई फिर्ता पठाउने कार्य तीव्र बनाइएको थियो ।
Categorized in राष्ट्रिय