काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन दिनको अनुगमन क्रममा विभिन्न उद्योग तथा फर्महरूलाई गरी २ लाख ३१ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
विभागको टोलीले मंगलबार, बुधबार र बिहीबार गरी ३७ उद्योग तथा व्यवसायिक फर्मको अनुगमन गरेको हो ।
विभागका अनुसार अनुगमनका क्रममा दर्ता प्रमाणपत्र नहुनु, एमआरपी नदेखिनु, नयाँ मूल्य अंकित गरी रिलेबलिङ गर्ने, गुणस्तर तथा नापतौलमा हेरफेर गर्ने जस्ता कैफियत भेटिएपछि ८ व्यवसायिक एकाइविरुद्ध जरिवाना लागु गरिएको हो ।
मंगलबारको अनुगमन
ललितपुर–१४, बल्खु स्थित बीएनको इन्टरप्राइजेजलाई सबैभन्दा बढी १ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।
त्यसैगरी ललितपुर–१९ टंगालको अनिश फुड्सलाई ५ हजार र काठमाडौं–२४ मखनगल्लीको लवकुश स्टोरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
बुधबारको अनुगमन
काठमाडौं–१४ कलंकीस्थित प्याराडाइज सर्टिङ सुर्टिङलाई २० हजार, लड्डु गोपाल फुड्स प्रालिलाई १५ हजार तथा ललितपुर–१९ लगनखेलस्थित द क्यान कस्मेटिक्सलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
बिहीबारको अनुगमन
काठमाडौं–३२ कोटेश्वरको काठमाडौं हाडवेयर स्टोरलाई ५१ हजार र तारकेश्वर–११ शेषमतीको अन्सिका फेन्सी सपलाई १० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।
विभागले उपभोक्ता अधिकार संरक्षणका लागि दैनिक अनुगमन सशक्त बनाउँदै लगेको तथा तोकिएको कानुन विपरीत रहेका व्यवसायमाथि कडा कारबाही गरिने चेतावनी समेत दिएको छ ।
Categorized in बजार