काठमाडौं । राष्ट्रिय परिचयपत्र (National ID) बनाइसकेका नागरिकले अब मतदाता नामावलीका लागि निर्वाचन कार्यालय धाउनुपर्ने छैन ।
निर्वाचन आयोगले आजदेखि लागू हुनेगरी नयाँ प्रणाली सुरु गरेको छ, जसअन्तर्गत अनलाइन फारम भरेपछि राष्ट्रिय परिचयपत्रमा रहेका विवरण र बायोमेट्रिक डेटा स्वतः मतदाता नामावलीमा प्रयोग हुने व्यवस्था मिलाइएको छ ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले राष्ट्रिय परिचयपत्रको डेटाबेसमा रहेको बायोमेट्रिक जानकारीलाई अनलाइन फारमसँग जोड्ने व्यवस्था लागू गरेको हो ।
उनले भने, “हाम्रो नेशनल आइडीको भण्डारमा रहेका बायोमेट्रिक डेटा अनलाइनमा भर्नुभएको निवेदनमा जोड्ने र छानबिन गरी नामावली प्रकाशन गर्ने निर्णय गरेका छौँ । यसले नागरिकका मागलाई सम्बोधन गर्नेछ ।”
आयोगले जेनजी प्रतिनिधिहरूसँगको छलफलपछि मतदाता नामावली संकलनलाई सहज बनाउन यस्तो प्रविधिमूलक निर्णय गरेको हो ।
प्राविधिक तयारीका लागि आयोगले बुधबार राति नै आवश्यक प्रणाली अपडेट गरेको बताइएको छ ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र बनाइसकेकाहरूलाई अब फोटो खिच्ने वा बायोमेट्रिकका लागि कार्यालय पुग्न आवश्यक छैन ।
उनले भने, “राष्ट्रिय परिचयपत्र भएकाले अनलाइन फारम भरेपछि मतदाता नामावलीमा नाम समावेश हुन्छ । तर जसले परिचयपत्र बनाएका छैनन, तीले अनलाइन फारम भरेपछि बायोमेट्रिकका लागि कार्यालयमा आउनैपर्छ ।”
सरकारले आगामी ३० कात्तिकसम्म मतदाता नामावली दर्ता गर्ने समय सीमा तोकेको छ ।
समय सीमाको अन्त्य नजिकिँदै गर्दा ठूलो संख्यामा मतदाता नाम दर्ता गर्न बाँकी रहेकाले आयोगले नागरिकलाई सहज बनाउन नयाँ व्यवस्था लागू गरेको हो ।
Categorized in राष्ट्रिय