८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते, यस्तो छ कार्यतलिका


प्रकाशित: बुधवार, २६ कात्तिक २०८२, १४ः४५ बजे
- महानगरखबर

काठमाडौं । आगामी राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दल दर्ता प्रक्रिया मंसिर १ गतेदेखि सुरु हुने भएको छ । 


निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता मंसिर १ गतेदेखि १० गतेसम्म गर्न सकिनेछ ।


आयोगका अनुसार दल दर्ताको स्वीकृति र निर्वाचन चिन्ह प्रदान मंसिर १४ गते हुनेछ । त्यस्तै, निर्वाचन कार्यक्रम स्वीकृति तथा नेपाल राजपत्रमा प्रकाशन मंसिर १६ गते गर्ने तालिका तय गरिएको छ ।


मतदाता नामावली (निर्वाचक मण्डल) तयार गरी स्वीकृत गर्ने कार्य पुस ५ गते सम्पन्न हुनेछ । 


सोही दिन मतदान स्थल तथा मतदान केन्द्र पनि निर्धारण गरिनेछ । निर्वाचन अधिकृतको कार्यालय स्थापना पुस १६ गते गरिनेछ भने निर्वाचन कार्यक्रम सञ्चालन पुस २० गतेदेखि २८ गतेसम्म हुनेछ ।


निर्वाचन प्रचार–प्रसारको समय पुस २८ गतेदेखि माघ ८ गतेसम्म रहनेछ । मतदान भने आगामी माघ ११ गते विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने र सोही दिन मतगणना सुरु हुने आयोगले जनाएको छ ।


यस निर्वाचनमा प्रदेशसभा सदस्यहरू, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता हुनेछन । 


प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ तोकिएको छ ।


प्रदेशगत मतभार अनुसार कोशीमा १० हजार १३५, मधेशमा १० हजार ८३९, बागमतीमा १० हजार ३५२, गण्डकीमा ६ हजार ४१०, लुम्बिनीमा ८ हजार ७५३, कर्णालीमा ५ हजार १२२ र सुदूरपश्चिममा ६ हजार १५३ मतभार रहेको छ ।


राष्ट्रिय सभाका रिक्त १९ मध्ये १८ पदका लागि आगामी निर्वाचन हुँदैछ । 


मनोनीत सांसद वामदेव गौतमको स्थानमा भने सरकारले अर्को व्यक्तिको नाम सिफारिस गर्नेछ । 


बाँकी १८ पदका लागि हुने निर्वाचनमा कोशीबाट ३, मधेशबाट ४, बागमती र गण्डकीबाट २–२, लुम्बिनीबाट ३ तथा कर्णाली र सुदूरपश्चिमबाट २–२ जना राष्ट्रिय सभा सदस्य चुनिनेछन ।

 
वि.सं. २०७६ फागुनमा निर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल सकिन लागेकाले उक्त रिक्त स्थान पूर्तिका लागि निर्वाचन हुन लागेको हो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex