काठमाडौं । दोलखाको यलुङ रि क्षेत्रको हिमपहिरोमा परेर मृत्यु हुनेको संख्या सात पुगेको छ ।
गौरीशंकर गाउँपालिका–९ डोल्मा खाङ हिमाल आरोहणका लागि गएका आरोहीमध्ये सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
पहिरोमा परी घाइते भएका आठ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
उद्धारमा खटिएका टोलीको विवरणअनुसार हालसम्म पाँच जना विदेशी नागरिक र दुई जना नेपाली नागरिकको मृत्यु पुष्टि भएको छ ।
विदेशी नागरिक कुन–कुन देशका हुन भन्ने विवरण भने अझै प्राप्त भएको छैन । मृतकको शव घटनास्थलमै रहेको र कठिन भौगोलिक कारणले उद्धार कार्यमा चुनौती आइरहेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ उद्धारका लागि तीनै सुरक्षा निकायको संयुक्त टोली घटनास्थलतर्फ खटिएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट(बिओपी) लामाबगर, नेपाली सेना र नेपाल प्रहरी गरी करिब ५० जनाको संयुक्त टोली उद्धारमा जुटिरहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान साढे १० बजे गौरीशंकर गाउँपालिका–९ मा अवस्थित यलुङ रि गो हिमाल (५६३० मिटर) आरोहणका लागि विदेशी र नेपाली नागरिकसमेतको टोली गएको थियो ।
आरोहणकै क्रममा आएको हिमपहिरोमा परेर उनीहरू दुर्घटनामा परेका हुन ।
Categorized in राष्ट्रिय