ललितपुर । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेको ललितपुरको प्रहरी प्रभाग बुंगमती (भैसेपाटी) भवन पुनःनिर्माण गरी मंगलबार औपचारिक रुपमा प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
स्थानीय समुदायको सहकार्यमा पुनःनिर्माण गरिएको भवन पुनःनिर्माण समितिका संयोजक सुमन महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गर्नुभयो ।
संयोजक महतका अनुसार भदौ २६ गते गठन गरिएको ११ सदस्यीय पुनःनिर्माण समितिले दुई सयभन्दा बढी स्थानीय, व्यवसायी, संघ–संस्था र समाजसेवीहरूको स्वस्फूर्त सहयोगमा जम्मा ४९ लाख ५४ हजार ६८ रुपैयाँको लागतमा भवन पुनःनिर्माण सम्पन्न गरेको हो ।
उद्घाटन कार्यक्रममा एआईजी कार्कीले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै भने, “राम्रा र असल मानिसहरूको मौनताले खराब तत्वले प्रसय पाउँछन्। अब रगत होइन, मेहनतको पसिना बगाउने समय हो ।”
उहाँले सार्वजनिक सम्पत्ति तोडफोड गर्नेहरूलाई कानूनी दायरामा ल्याउन कुनै कमी हुन नहुनेमा जोड दिनुभयो ।
कार्कीले प्रहरीको तालिम र क्षमता अभिवृद्धिमा राज्यले थप लगानी गर्नुपर्ने र प्रहरी सेवाले नागरिकको सोच, चाहना र अपेक्षाअनुसार सेवा प्रवाह गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले पुनःनिर्माणमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गर्दै यो भवन स्थानीयहरूको सम्पत्ति भएको बताए ।
उनले आन्दोलनमा संलग्न अपराधिक गतिविधिका सहभागीहरूलाई खोजी गरी कारबाही प्रक्रियामा रहेको जानकारी पनि दिए ।
त्यस्तै, नेपाल महिला संघकी केन्द्रीय सदस्य निरु खड्काले आन्दोलनका क्रममा लुटिएका लत्ताकपडाको सट्टामा ५४ सेट ट्रयाकसुटलगायत सामग्री प्रहरीलाई हस्तान्तरण गर्नुभयो ।
ललितपुरका विभिन्न वडाध्यक्षहरू, युवा क्लब र स्थानीय विशिष्ट व्यक्तित्वहरूको सहकार्यले भवन छिटोछरितो पुनःनिर्माण गर्न सम्भव भएको प्रभाग प्रमुख प्रहरी निरीक्षक शशीधर शर्माले जानकारी दिनुभयो ।
भदौ २४ गतेको आन्दोलनबाट ललितपुर जिल्लाभित्र २१ वटा प्रहरी कार्यालयमा क्षति पुगेको र केही हतियार अझै बरामद हुन बाँकी रहेको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक चक्र जोशीले जानकारी दिनुभयो ।
Categorized in समाज