काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये अझै करिब पाँच हजार कैदी फरार रहेका छन ।
कारागार व्यवस्थापन विभागका अनुसार प्रदर्शन चर्किएपछि देशभरका २८ वटा कारागार र नौ वटा बालसुधारगृहबाट गरी १४ हजार ५४९ बन्दी फरार भएका थिए ।
तीमध्ये हालसम्म नौ हजार ५८२ बन्दी मात्र नियन्त्रणमा परेर कारागार फर्किएका छन ।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार अझै चार हजार ९८२ जना — जसमा चार हजार ५९६ कैदी र ३८६ बालबन्दी — फरार छन ।
फरार बन्दी फिर्ता ल्याउन सरकार सक्रिय बनेको छ। गृह मन्त्रालयले सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधि रहने गरी ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको छ ।
कार्यदलले विशेष अभियानमार्फत फरार कैदी र बालबन्दीलाई नियन्त्रणमा लिएर कारागार फिर्ता पठाइरहेको छ ।
फरारको क्रममा रामेछापमा तीन, धादिङ र सप्तरीमा दुई–दुई कैदीको गोली लागी मृत्यु भएको थियो । नौवस्ता र डोटी बालसुधारगृहमा भएको झडपमा समेत बालबन्दीको ज्यान गएको थियो ।
सरकारले फरार कैदीलाई ‘अल्टिमेटम’ दिँदै स्वेच्छाले कारागार फर्किन आह्वान गरेको छ । सूचनालाई बेवास्ता गरी फरार रहनेहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।
हाल देशभरका ७२ जिल्लामा रहेका ७५ वटा कारागार र बालसुधारगृहमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार ६४१ कैदी र बालबन्दी छन ।
Categorized in राष्ट्रिय