ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको ४६औं वार्षिक साधारणसभामा वक्ताहरुले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन ।
शुक्रबार शंखमुलस्थित यल दरबारमा आयोजित साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अन्जनकुमार श्रेष्ठले निजी क्षेत्रमाथि भएका आक्रमणलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो ।
उहाँले देशमा लगानीको सुरक्षा, व्यवसायिक वातावरणको सुनिश्चितता र कानुनी राज्य स्थापनाको आवश्यकता औंल्याउनुभयो ।
श्रेष्ठले भन्नुभयो, “देशमा लगानीमैत्री वातावरण तयार गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ । संवादबाट समस्या समाधानतर्फ जानुपर्छ।” उहाँले जायज नाफालाई अपराधका रूपमा नहेर्न समाजलाई आग्रह गर्नुभयो । “नाफा गर्नु अपराध होइन, सोच परिवर्तन गर्नुपर्छ,” उहाँले जोड दिनुभयो ।
उहाँले शिक्षालाई उद्यमशीलता अभिमुख बनाउन आवश्यक रहेको उल्लेख गर्दै जागिर दिनेभन्दा जागिर सृजना गर्ने शिक्षा प्रणालीको आवश्यकता औंल्याउनुभयो ।
श्रेष्ठका अनुसार, “अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत रहेको छ। त्यसैले तीनै तहका सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ ।”
श्रेष्ठले सरकार नियमन र संरक्षकको भूमिकामा सीमित रहनुपर्ने बताउँदै भन्नुभयो, “सरकारले उद्योग व्यापार गर्न होइन, वातावरण तयार पार्नुपर्छ ।
निजी क्षेत्रले गर्ने काम किफायती र दिगो हुन्छ।” उहाँले समयमै निर्वाचन सम्पन्न गर्न निजी क्षेत्रले पनि सकारात्मक भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।
ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुरलाई हस्तकला र व्यवसायको केन्द्रका रूपमा सुदृढ बनाउन महानगर सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उहाँले स्थानीय उत्पादनको बजारीकरण र सृजनशील उद्यममार्फत देशलाई समृद्ध बनाउन जोड दिनुभयो ।
संघका अध्यक्ष विश्वराज बज्राचार्यले उद्योगी व्यवसायीका हकहितका लागि संघ निरन्तर क्रियाशील रहने र निजी क्षेत्रको भूमिकालाई सशक्त बनाउने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा कला, संस्कृति तथा उद्योग व्यवसायमा उत्पकृष्ट स्थान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
Categorized in बजार