काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशभर फैलिएको भ्रष्टाचार नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्न थालेको बताएकी छन् ।
उनले अहिले व्यापक रूपमा जरो गाडेर फैलिएको भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम सुरु गरिएको स्पष्ट गरेकी छन् ।
शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख र नेपालस्थित राजदूतहरूलाई ब्रिफिङ गर्ने क्रममा प्रधानमन्त्री कार्कीले पारदर्शिता र जवाफदेहीता सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताइन ।
उनले भनिन्, “हामीले पारदर्शितालाई बढावा दिन र सार्वजनिक कोषको दुरुपयोगका बाटाहरू बन्द गर्न राष्ट्रिय बजेटमा संशोधन गरेका छौं । साथै, ज्यादै फैलिएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइलहरू खोलेका छौं ।”
प्रधानमन्त्री कार्कीका अनुसार वर्तमान सरकारले सुशासनलाई प्राथमिकता दिँदै तत्काल प्रभावकारी कदमहरू चालिरहेको छ। उनले थपिन्, “सरकारले जवाफदेही शासन प्रणाली स्थापनाका लागि कानूनी, प्रशासनिक र आर्थिक सुधारका उपायहरू अघि बढाइरहेको छ ।”
ब्रिफिङ कार्यक्रममा सहभागी कूटनीतिक नियोगका प्रतिनिधिहरूले पनि नेपालको सुशासन, पारदर्शिता र न्याय प्रणाली सुदृढीकरणका लागि सहकार्य गर्न तयार रहेको बताएका छन ।
Categorized in राष्ट्रिय