काठमाडौं । नेपालीहरूको महान् चाड बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ ।
आश्विन शुक्ल सप्तमीका दिन प्रत्येक वर्ष शास्त्रीय विधिअनुसार नवपत्रिका (नवपालुवा) भित्र्याई देवी दुर्गाको आराधना गर्ने परम्परा छ ।
घटस्थापनादेखि पूजाआजा गरिएको दशैंघर वा पूजा कोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्षसहित नौ देवीका प्रतीकका रूपमा फूलपाती भित्र्याइने प्रचलन रहिआएको छ ।
धर्मशास्त्रविद प्राध्यापक डा. रामचन्द्र गौतमका अनुसार, “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी सबै देवी नवदुर्गाका पार्षद् हुन । ”
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले फूलपाती भित्र्याउन छुट्टै साइतको आवश्यकता नपर्ने जनाएको छ ।
गोरखादेखि हनुमानढोकासम्म फूलपाती
फूलपाती गोरखा दरबारबाट हनुमानढोका दरबारसम्म विशेष परम्परागत विधिबाट ल्याइन्छ ।
गोरखाबाट जीवनपुर (धादिङ)सम्म मगर समुदायका ६ जनाले फूलपाती ल्याउने र त्यहाँबाट जमलसम्म काठमाडौंका ब्राह्मण जातिका ६ जनाले ल्याउने चलन छ । जमलबाट भने निजामती सेवाका उच्च अधिकारी, गुर्जु पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक झाँकीसहितको लावालस्करमा फूलपाती हनुमानढोकामा भित्र्याइने परम्परा छ ।
यस वर्ष पनि शनिबार राजधानीबाट गएको समूहले जीवनपुरबाट फूलपाती लिएर स्वयम्भू हुँदै आज जमल भित्र्याउने कार्यक्रम रहेको दरबार हेरचाह अड्डाले जनाएको छ । स्वयम्भूको वनबाट ‘माने’ फूल समेत नवपत्रिकामा समावेश गर्ने चलन रहिआएको छ ।
दशैंको चहलपहल
आजदेखि दशैंको रौनक थपिएको छ । सरकारी कार्यालयहरु पनि बिदामा जाने भएकाले विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्ति आफ्ना घर फर्कन थालेका छन ।
उपत्यकाबाट बाहिरिनेको संख्या बढेसँगै सडक सुनसान बन्दै गएको छ भने गाउँघरमा भने लिङ्गे पिङ, रोटे पिङ र चङ्गा उडाउने रमाइलो सुरु भएको छ ।
Categorized in सम्पदा/संस्कृति