काठमाडौं । हुण्डी मार्फत नेपाली मुद्राको अवैध कारोवार गर्नेहरुलाई पर्सा प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएकोे रु ५४ लाख ९६ हजार र हुण्डीको कारोवारमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा पर्साको बिन्दवासनी गाउँपालिका–५ निवासी पवनकुमार गुप्ता, वीरगञ्ज–६ निवासी अजय मानन्धर, बारा सिम्रौनगढ नगरपालिका–१ निवासी अजयकुमार जैशवाल, भारत विहार रक्सौल निवासी अशोक श्रीवास्तव र भारत विहार रामगढवा निवासी सावीर मियाँ रहेका छन् ।
उनीहरुले वीरगञ्जको घडिआर्व र माइस्थान चोकमा हुण्डी कारोवार संचालन गर्दै आएको प्रहरीले सुचना पाएपछि पक्राउ परेको प्रहरीले जनाएको हो ।
पक्राउ परेका व्यक्तिहरु र बरामद रकमसहित आवश्यक कारवाहीका लागि आजै राजश्व अनुसन्धान विभाग हरिहर भवन काठमाडौँ पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
Categorized in बजार