काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबारदेखि ‘डिजिटल टिप्पणी’ प्रणाली लागू गरेको छ ।
अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका सम्पूर्ण कामलाई क्रमशः कागजबिहीन बनाउनका लागि यो प्रणाली प्रारम्भ भएको जानकारी दिएका हुन ।
मन्त्रालयका अनुसार नयाँ प्रणालीले तीन प्रमुख फाइदा ल्याउनेछ। पहिलो, पटक–पटक कागज प्रिन्ट गर्ने झन्झट हट्नेछ। दोस्रो, टिप्पणी उठाएर अधिकारीको कोठा–कोठा धाउनुपर्ने आवश्यकता रहने छैन, डिजिटल प्रणालीमै काम हुनेछ। तेस्रो, सम्पूर्ण निर्णय प्रक्रिया सहज र छिटो हुनेछ ।
अब कुनै पनि निर्णय वा टिप्पणी कुन समयमा उठ्यो, कहिले सदर भयो भन्ने सबै विवरण प्रणालीमै अभिलेख हुने मन्त्रालयले जनाएको छ ।
यसअघि नै अर्थ मन्त्रालयमा डिजिटल टिप्पणी तथा डिजिटल हस्ताक्षर प्रयोग गर्ने भनिए पनि कार्यान्वयन ढिलाइ हुँदै आएको थियो। मन्त्री खनालको निर्देशनपछि शुक्रबारदेखि औपचारिक रूपमा यसको सुरुआत गरिएको हो ।
Categorized in बजार