८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पार्टी कार्यालयहरु र नेताहरुको घरमा आगजानी तथा तोडफोड


प्रकाशित: मंगलवार, २४ भाद्र २०८२, १२ः२३ बजे
- महानगरखबर

काठमाडौं । जेनजी आन्दोलन मंगलबार झनै चर्किएको छ । राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँमा प्रदर्शनकारीहरूले सत्तारुढ दलका शीर्ष नेताहरूको घर र पार्टी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका छन ।


नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आक्रोशित भिडले तोडफोड गरेको छ भने नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा समेत आगजनी गरिएको छ । प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा माग गर्दै कार्यालय अगाडि नाराबाजीसमेत गरिरहेका छन ।


सत्तारुढ दलका शीर्ष नेताहरूको निजी घरमा पनि प्रदर्शनकारीहरूको आक्रमण भइरहेको छ । 


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको काठमाडौंस्थित निवासमा मुख्य गेट फुटाएर प्रवेश गरेका प्रदर्शनकारीहरूले घरमै आगजनी गरेका छन । 


देउवाको धनगढीस्थित घरमा समेत आगजनी गरिएको छ ।


त्यसैगरी, निवर्तमान गृहमन्त्री रमेश लेखकको नैकापस्थित घरमा समेत तोडफोड र आगजनी भएको छ । हिजोमात्रै उनले पदबाट राजीनामा दिएका थिए ।


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा पनि बिहानैदेखि भिड जम्मा भई ढुंगामुढा गरिएको छ । 


त्यहाँ प्रहरी बिटसमेत तोडफोड गरिएको ललितपुर प्रहरीले जनाएको छ ।


यस्तै, ललितपुरकै सुनाकोठीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा समेत तोडफोड भएको छ ।


सोमबार भएको जेनजीहरूको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आन्दोलन अझै चर्किएको हो । 


आज बिहानदेखि काठमाडौंका विभिन्न स्थानमा प्रदर्शनकारीहरू आक्रामक बन्दै नेताहरूको घर, पार्टी कार्यालय र सार्वजनिक संरचनामा आक्रमण गरिरहेका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex