काठमाडौं । देशभर जारी जेनजी आन्दोलनको प्रभाव तीव्र बन्दै गएको छ ।
सोमबार बिहानै सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन ।
सुरुमा प्रदर्शनकारीहरूले घरतर्फ ढुंगामुढा गरेको र त्यसपछि आगजनी गरेको एक सुरक्षा अधिकृतले जानकारी दिएका छन ।
घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीय बासिन्दा त्रसित बनेका छन ।
यसैबीच, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन ।
उनले जेनजी आन्दोलनमा भएको दमन र निहत्था युवामाथि भएको आक्रमणप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।
अधिकारीले सामाजिक सञ्जालमार्फत राजीनामापत्र सार्वजनिक गर्दै लेखेका छन, “स–साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात सरकारमा बसिरहन मेरो नैतिकता अनुमति दिँदैन । सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै म मन्त्री पदबाट राजीनामा दिन्छु ।”
लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण आन्दोलन गर्नु नागरिकको अधिकार भएको उल्लेख गर्दै उनले यस्तो अधिकारलाई दमन गरिएकोप्रति आक्रोश प्रकट गरेका छन ।
हाल देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने काठमाडौंसहित प्रमुख सहरहरूमा कफ्र्यू जारी छ ।
Categorized in राष्ट्रिय