काठमाडौं । उपत्यकामा मंगलबार बिहानदेखि जारी कर्फ्यु आदेश अवज्ञा गर्दै नयाँ पुस्ताका युवा (जेनजी)ले प्रदर्शन सुरू गरेका छन ।
सोमबार भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि आक्रोशित युवाहरु फेरि सडकमा उत्रिएका हुन ।
काठमाडौं जिल्ला प्रशासनले बिहान साढे ८ बजेदेखि चक्रपथभित्र अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ भने भक्तपुर र ललितपुरले पनि विभिन्न क्षेत्रलाई समेटेर कफ्र्यु आदेश लागू गरेका छन ।
भक्तपुरमा जडिबुटी, राधेराधे, बालकोट, निकोसेरा र पेप्सीकोला क्षेत्र कफ्र्यु क्षेत्रमा परेका छन ।
ललितपुरमा वडा नम्बर २, ४, ९, १८ र २५ भित्र कफ्र्यु आदेश लागू गरिएको छ ।
यद्यपि कफ्र्यु आदेशलाई चुनौती दिँदै नयाँबानेश्वरस्थित संसद भवन अगाडि बिहानैदेखि युवाहरु प्रदर्शनमा उत्रिएका छन ।
उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै संसद भवन अगाडै जुलुस निकालेका छन । संसद भवन परिसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन ।
यसैबीच, काठमाडौंको कलंकी, खसीबजार, मालपोत क्षेत्र लगायतका स्थानमा पनि प्रदर्शन सुरू भएको छ । प्रदर्शनकारीहरुले सडक अवरुद्ध गर्दै टायर बालेर नाराबाजी गरेका छन भने सुरक्षाकर्मीमाथि ढुंगामुढा समेत गरेका छन । प्रहरीले लाठीचार्ज गरी भीड तितरबितर पार्ने प्रयास गरेको छ ।
ललितपुरको चापागाउँ र बानेश्वर क्षेत्रमा पनि समानान्तर रूपमा प्रदर्शन भइरहेको छ ।
उपत्यकाका तीनै वटै जिल्लामा कफ्र्यु आदेश लागू भएपनि विरोध प्रदर्शन थप चर्किएको देखिएको छ ।
Categorized in राष्ट्रिय