२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

आज राति खग्रास चन्द्रग्रहण, नेपालबाट साढे तीन घण्टा देखिने


प्रकाशित: आइतवार, २२ भाद्र २०८२, १२ः३५ बजे
- महानगरखबर

काठमाडौं । आज भाद्र शुक्ल पूर्णिमाका दिन आकाशमा खग्रास चन्द्रग्रहण लाग्दैछ । यो २०८२ सालको पहिलो चन्द्रग्रहण हो ।


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण राति १० बजेर ११ मिनेटमा सुरु भई राति १ बजेर ४१ मिनेटमा अन्त्य हुनेछ । मौसम सफा रहेमा काठमाडौंसहित नेपालभर साढे तीन घण्टा लामो समयसम्म ग्रहण देख्न सकिनेछ ।


खग्रास चन्द्रग्रहणको समयमा चन्द्रमा रातो रंगको देखिनेछ, जसलाई ‘ब्लड मुन’ भनिन्छ । खगोलविद्हरूका अनुसार पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पार्दा रातो प्रकाश मात्रै चन्द्रमामा पुग्ने भएकाले यस्तो दृश्य देखिने हो ।

 
यो ग्रहण नेपाल, भारतसहित एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका करिब ८५ प्रतिशत जनसंख्याले अवलोकन गर्न सक्नेछन्। यसै वर्ष फागुन शुक्ल पूर्णिमामा अर्को खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।


ग्रहण किन लाग्छ ?


सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा आउँदा पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्छ । पूर्णरूपमा ढाकिँदा खग्रास र आंशिक रूपमा ढाकिँदा खण्डग्रास चन्द्रग्रहण भनिन्छ ।


सामान्यतया सूर्यको प्रकाश चन्द्रमामा परेर हामीले चन्द्रमालाई देख्ने गर्छौं। तर पृथ्वी बीचमा आउँदा चन्द्रमा अँध्यारो देखिन्छ ।


धार्मिक मान्यता र वैज्ञानिक दृष्टिकोण


धार्मिक विश्वासअनुसार ग्रहणको बेला पूजापाठ, खाना खानु, हाँस्यव्यंग्य वा सहबास गर्नु वर्जित मानिन्छ । 


तर वैज्ञानिक दृष्टिकोणले यस्तो कुनै प्रभाव नरहेको बताउँदै खगोलीय अध्ययनका हिसाबले ग्रहणलाई महत्त्वपूर्ण अवसरका रूपमा लिन सुझाव दिएका छन ।


वैज्ञानिकहरूले ग्रहणलाई नाङ्गो आँखाले नहेरी सुरक्षा उपकरण प्रयोग गरेर मात्र अवलोकन गर्न सिफारिस गरेका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex