काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलस्थित सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ।
आइतबार बिहान करिब ३ वटा डोजरसहित पुगेको नगर प्रहरी टोलीले वडा नं. ५ मा रहेको सरकारी कित्ता नं. १०५ क्षेत्रफल १७-०-०-०मा बनेका संरचना भत्काएको हो।
महानगरपालिकाले अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना टाँसेर चेतावनी दिएको भए पनि तोकिएको समयसीमा नाघेपछि डोजर चलाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।
उनका अनुसार महानगरपालिकाको सार्वजनिक जग्गा तथा ऐतिहासिक पोखरीहरूको संरक्षण गर्ने नीति अन्तर्गत सो क्षेत्रको न्हुः पोखरी जिर्णोद्वार तथा पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी नगर कार्यपालिकाबाट स्वीकृत भइसकेको छ । बजेट समेत विनियोजन भइसकेकोले संरचना हटाइएको हाछेथुले बताए ।
महानगरले अब न्हुः पोखरीलाई ऐतिहासिक स्वरूपमा पुनःनिर्माण गर्ने योजना अघि सारेको छ ।
Categorized in पालिका