१७ बैशाख २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

आज येँयाः जात्रा मनाइँदै, क्वने याः (तल्लो टोल) रथ तानिने


प्रकाशित: शनिवार, २१ भाद्र २०८२, ०८ः४५ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक पर्व येँयाः (इन्द्रजात्रा) शनिवारबाट सुरु हँदैछ । 


इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतका विशिष्ट व्यक्तिहरू सहभागी हुनेछ । 


परम्पराअनुसार आज गद्दी बैठक दरबार अगाडिबाट राष्ट्रपति समेत सहभागी रहने कार्यक्रममा श्री गणेश, श्री भैरव र जीवित देवी श्री कुमारीको रथयात्रा नजिकैबाट अवलोकन गर्ने परम्परा छ ।

 
जीवित देवीका रूपमा पूजिने श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा निकालिने छ । 


कुमारी रथ क्वने याः (तल्लो टोल) बाट सुरु भई बसन्तपुर, मरु, चिकमुुगल, जैशीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान हुँदै पुनः बसन्तपुरनै लगिनेछ । 


सांस्कृतिक महत्त्व


इन्द्रजात्रा उपत्यकामा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गर्ने परम्परागत पर्व हो । यस अवसरमा विभिन्न नाचगान, रथयात्रा र पूजाआजासहित धार्मिक उत्सवको माहोल देखिन्छ ।


भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने यो पर्व आठ दिनसम्म विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित चल्ने परम्परा छ । 


यस दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ र यसको फेदमा भैरवको पूजा गर्ने चलन रहेको छ ।


रथयात्रा र नाचगान


पर्वभरि भक्कु नाच, महाकालीनाच, लाखे नाच, दशावतार नाच, पुलुकिसी नाचलगायतका परम्परागत प्रस्तुतिहरू देखाइन्छ । 


ऐतिहासिक र धार्मिक महत्व


शत्रु पराजयपछि विजय उत्सवका रूपमा सुरु भएको मानिने इन्द्रजात्रा शक्ति प्रदर्शन र सामूहिक उल्लासको पर्वका रूपमा पनि लिइन्छ । यस दिन भक्तपुरको चितपोल जङ्गलमा तान्त्रिक विधिद्वारा बोकाले छोएको रूख काटेर तयार गरिएको लिङ्गो उपत्यकामा ल्याइन्छ र साइत हेरेर ठड्याइन्छ ।


अनन्त चतुर्दशी पनि आजै


यसै दिन अनन्त चतुर्दशी पर्व पनि मनाइन्छ। भगवान् विष्णुको स्वरूप अनन्तनाथको पूजा आराधना गरी चोखो धागोमा अनन्त मन्त्रण गरेर बाँध्ने परम्परा छ। यसले वर्षभर शुभ हुने विश्वास गरिन्छ ।


इन्द्रदहमासमेत भीड


भाद्र शुक्ल पूर्णिमाको दिन उपत्यकाको पश्चिम दहचोकस्थित इन्द्रदहमामा स्नान गर्ने धार्मिक विधि छ । यस अवसरमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ ।


आठ दिनपछि आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वज पातन (लिङ्गो ढाल्ने) गरी यो जात्रा औपचारिक रूपमा सम्पन्न गरिन्छ ।

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex