काठमाडौं । चीनको थियानजिनमा सम्पन्न शांघाई सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलनमा सहभागिता जनाएर प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार रेलमार्ग हुँदै बेइजिङ पुगेका छन ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बेइजिङ आइपुग्दा उनलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका थिए ।
बेइजिङमा ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल समेत सहभागी हुनेछ ।
यसअघि थियानजिनमै प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच द्विपक्षीय भेटवार्ता भइसकेको छ ।
भ्रमणको अन्तिम चरणमा नेपाली प्रतिनिधिमण्डलले भदौ १८ गते बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमा विजय प्राप्त भएको ८० औँ वार्षिकोत्सव समारोहमा सहभागिता जनाउनेछ ।
उक्त कार्यक्रममा सहभागी भइसकेपछि प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल सोही दिन नेपाल फर्कनेछ ।
Categorized in राष्ट्रिय