नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि साउन २३ गते प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा पुगेको मूल्य तीन सातामै तोडिएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि उच्च बिन्दुमा पुगेको छ। अघिल्लो दिन २३५५ रुपैयाँ प्रतितोला रहेको चाँदी शुक्रबार २३६० रुपैयाँमा पुगेको छ।
महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको हो। “अन्तर्राष्ट्रिय बजारमा जसरी सुनचाँदीको मूल्य घटबढ हुन्छ, त्यसैगरी नेपालमा पनि दैनिक समायोजन हुन्छ,” उनले बताए।
Categorized in बजार