काठमाडौं । सरकारले राष्ट्रिय युवा नीतिमा परिमार्जन गर्दै अबदेखि १८ देखि ३५ वर्ष उमेर समूहलाई मात्र युवा मानिने भएको छ ।
हालै मन्त्रिपरिषद्बाट स्वीकृत परिमार्जित नीतिअनुसार नेपालमा अब युवाको नयाँ परिभाषा लागू हुने भएको हो ।
यसअघि लागू रहेको राष्ट्रिय युवा नीति २०७२ अनुसार युवाको उमेर १६ देखि ४० वर्षसम्म मानिँदै आएको थियो ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार युवाका नयाँ माग, चाहना र अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राखेर नीति संशोधन गरिएको हो ।
उनले भने, “बालबालिका ऐनले १८ वर्षसम्मलाई बालबालकको परिभाषा दिएको छ । त्यसैले अन्तर्राष्ट्रिय परिवेशलाई समेत मध्यनजर गरेर युवाको उमेर दायरा १८–३५ वर्ष कायम गरिएको हो ।”
युवालाई उद्यमशील बनाउन नयाँ कार्यक्रम
नयाँ नीतिमा युवालाई स्वस्थ, शिक्षित, सकारात्मक सोचयुक्त, उद्यमशील, सिर्जनशील र दायित्वप्रति निष्ठावान् बनाउने लक्ष्य लिइएको छ ।
युवालाई आत्मनिर्भर र स्वरोजगार बनाउन नीति अन्तर्गत स्टार्टअप, व्यवसाय सम्बर्धन केन्द्र, एकल बिन्दु सेवा केन्द्र र करिअर काउन्सेलिङ जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।
युवामा रहेको ज्ञान, सीप र पुँजीलाई सदुपयोग गर्ने प्रोत्साहनमूलक कार्यक्रम, प्राविधिक ज्ञान तथा सीपमूलक तालिम, उद्यमशीलता विकास, व्यवसायिक प्रतियोगिता, हरित कृषि रोजगारी कार्यक्रम लगायतका पहलसमेत नीति दस्तावेजमा समेटिएका छन् ।
अनुसन्धान र प्रविधिमा जोड
परिमार्जित युवा नीतिले अनुसन्धान, अन्वेषण र प्रविधिमा युवाको समावेशी सहभागिता सुनिश्चित गर्ने र साइबर सुरक्षासहित प्रविधिमैत्री राष्ट्र निर्माणमा जोड दिने उल्लेख गरिएको छ ।
नयाँ नीतिले युवालाई राष्ट्र निर्माणको प्रमुख शक्तिका रूपमा स्थापित गर्ने र उनीहरूको सार्थक तथा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने सरकारको लक्ष्यलाई प्रतिबिम्बित गरेको छ ।
Categorized in राष्ट्रिय